धरान, धरानमा संगीत जात्रा साँस्कृतिक महोत्सव हुने भएको छ।
नेचर क्लब धरान, निशान त्रिभ्याली टोल बिकास संस्था धरान १५ को आयोजना तथा त्रिवेणी महिला समुह धरान १५को सहआयोजनामा यहि पुष ७ गतेदेखि १७ गतेसम्म संगीत जात्रा साँस्कृतिक महोत्सव हुने भएको हो।
‘‘गीत, संगीत र मनोरन्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन” भन्ने मूल नाराको साथमा धरान १५ स्थीत बगरकोट, एभरेष्ट लाईनमा उक्त महोत्सव आयोजना गरिने आज धरानमा पत्रकार सम्मेलन गर्दै आयोजक क्लबका अध्यक्ष कृष्ण राईले जानकारी गराएका छन्।
मौलिक तथा जातीय भेषभुषा सहितको साँस्कृतिक प्रर्दशनी, जातीय परिकार सहितको अर्गानिक खाद्यान्न महोत्सवमा रहने साथै महोत्सवमा मनोरन्जन प्रदान गर्न ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने अध्यक्ष राईले बताए।
उनका अनुसार महोत्सवलाई थप आकर्षक र मनोरन्जनात्मक बनाउन बालबालिकादेखि सबै उमेर समुहले रमाउन सक्ने गरि रोटेपिङ, ड्रागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकिमाउस्, लगायतका खेलतामासाका सामग्रीहरुको व्यवस्था गरिएको छ
पत्रकार सम्मेलनमा महोत्सवका संयोजक दिपचन्द्र राई (कान्छी)ले पहिलो दिनदेखि अन्तिमसम्म सबै कार्यक्रमहरुमा राष्ट्रिय कलाकारहरुलाई प्रस्तुत गरिने बताए । महोत्सव अवधिभर कलाकारहरु सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), रकहेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहने राईले बताए ।
महोत्सवमा प्रवेशका लागि दिउँसोको समय निशूल्क रहने र अपरान्ह ४ बजेपछि कालाकारहरुको उपस्थितिलाई मध्यनजर गर्दै शूल्क निर्धारण गरिने राईले बताए, उनले भने शुल्क ३ सय भन्दा बढी नहुने पनि बताए । गीत, संगीतको माध्यमबाट मनोरञ्जन प्रदान गर्ने र धरानमा आगन्तुकहरु भित्र्याउदै, धरानको समृद्धिमा योगदान पुर्याउने उदेश्यले आयोजना गरिएको महोत्सवबाट बचेको रकम मध्यबाट सामाजिक सेवाका काममा खर्च गरिने पनि राईले बताए ।
पत्रकार सम्मेलन धरान उपमहानगर १५ नम्बर वडा अध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यतामा भएको थियो । अग्रज सञ्चारकर्मी तथा मजदुर नेता भीमज्वाला राई विशिष्ठ अतिथि रहेको पत्रकार विकास चाम्लिङ राईले सञ्चालन गरेको पत्रकार सम्मेलनमा निशान त्रिवेणी टोल विकास संस्थाका सचिव डेनिस कार्कीले सबै सञ्चारकर्मीहरुलाई स्वागत गरेका थिए ।