धरान: धरानमा ‘दोस्रो केपि राई मेमोरियल ओपन हाम्रो फुटसल कप’ भदौ अन्तिम साता आयोजना हुने भएको छ।

नेचर क्लब धरानको आयोजनामा प्रतियोगिता भदौ २७, २८  र २९ गते देखी तिन दिनसम्म सन्चालन हुने क्लबले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।

प्रतियोगितामा धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ्ग, भारतका सिक्किम लगायत वाट १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष कृष्ण राईले बताए। प्रतियोगितामा राष्ट्रिय फुटसल खेलाडिहरुको समेत सहभागिता रहनेछ। 

प्रतियोगिताको विजेताले नगद दुई लाख, उपबिजेताले  नगद १ लाखसहित टफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको बिधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडिले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनही नगद १० हजार रुपैया प्राप्त गर्नेछन्।

यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। पहिलो संस्करणमा धरानका गार्डेन एफसिले उपाधि जितेका थियो। यसपटक पुरस्कार राशीमा बृदि गरिएको आयोजकले जनाएको छ। पहिलो संकरणको पुरस्कार राशि नगद ५० हजार थियो।

प्रतियोगिता धरान १३ निवासी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रवि राईको दिवंगत बुवा केपि (कालिप्रसाद) राईको स्मृतिमा आयोजना गरिएको हो। दिवंगत केपि राई भारतिय भुपु गोर्खा सैनिक संघमा रहेर सामाजिक काममा सक्रिय थिए।