धरान, गाँजा ओसारपसार गर्ने सरकारी नम्बर प्लेटको गाडीलाई प्रहरी पक्राउ गरेको छ।
मंगलबार बेलुका ७ बजे धनकुटाबाट धरान आउँदै गरेको बा १ झ ५१२७ नम्बरको टाटा कम्पनीको गाडी र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेटको स्कार्पियो गाडीलाई धरान १३ अमरहाटमा प्रहरीले चेकजाँच गर्ने क्रममा ६ सय ९० केजी गाँजा सहित पक्राउ गरेको हो।
गाँजासहित आउँदै गरेको उक्त गाडीलाई प्रहरीले चेकजाँच गर्न गाडी रोक्दा चालकले गाडी भगाउन खोजेपछि नियन्त्रणमा लिन इन्सास राइफलबाट ४ राउण्ड गोली फायर गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी रामप्रसाद तिम्सीनाले आज बिहान इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन आयोजना गरि बताएका छन्।
उनका अनुसार एक राउण्ड गोली एउटा गाडीको पछाडीको सिसाको माथिल्लो भागमा लागेको छ। गाँजा ओसारपसारमा संलग्न दुबै गाडीहरु प्रहरीले नियन्त्रणमा लिएका इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकास जबेगुले बताए।
क्रममा गाडीमा कालो रंगको प्लाष्टिक भित्र प्याक गरि राखेको ११ बोरा गाँजा फेला परेको छ। उक्त गाँजा ओसारपसारमा संलग्न गाडी चालक ३६ वर्षिय श्यामकुमार विश्वकर्मालाई पक्राउ गरेको छ भने अर्का चालक करिब एक सय पचास मिटर तल भित्री बाटोमा गाडी छोडेर भागेको डिएसपी जबेगुले बताएका छन्।
उनको अनुसार उक्त गाडीहरुको नम्बर प्लेट न्यायिक मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडीको नम्बर प्लेटसँग मिलेको र त्यस सम्बन्धी थप अनुसन्धान पछि यथार्थ सार्वजनिक गर्ने भएको छ।