धरान, भेडेटारमा पौष १६ गते देखि तीन दिने १२औं भेडेटार फुड फेस्टिबल हुने भएको छ। 

भेडेटार फुड फेस्टिबलको अवसरमा आन्तरिक तथा वाह्य पर्यटकलाई भेडेटारमा भित्राई स्थानीय खानपान, उत्पादन साथै स्थानिय पर्यटकीय स्थलहरुको प्रवद्घन गर्ने उदेश्यले होटल एशोसिएशन भेडेटारले फेस्टिबलको आयोजना गर्न लागेको एशोसिएशनका अध्यक्ष तुमराज लिम्बूले बताए।

उनको अनुसार फेस्टिबलमा स्थानिय अर्गानिक, खेतीबाट उत्पादित तरकारी तथा फलफूलहरु, हस्तकला तथा कृषि र घरेलु उत्पादनहरु प्रदर्शनी गरिने छ। 

त्यसैगरी जातीय मौलिक भेषभुषा तथा साँस्कृति प्रदर्शनी, प्रत्येक दिन राष्ट्रिय र स्थानी कलाकारहरूको सांगीतिक प्रस्तुति गरिने भएको छ।  

उक्त तीन दिने फेस्टिबलबाट पर्यटकहरुले स्थानिय जातीय मौलिक खानपानको स्वाद लिने र भेडेटार र आसापासको पर्यटकीय स्थलहरु भ्रमण गर्ने र मनोरन्जन लिन सक्ने एशोसिएशनका अध्यक्ष लिम्बुले बताए। 

अध्यक्ष लिम्बुका अनुसार पर्यटकहरुले भेडेटारका मुख्य पर्यटकीय स्थल सैलुङ डाँडा चाल्स टावर स्थीत स्काईब्रीज, पाथिभरा मन्दिर सहित साँगुरीगढी गाउँपालिकाको 

साँगुरी गढी यक, नाम्जे गाउँ होम स्टे, आत्मा बस्ने घर, अजंगको वर लाप्चे टार, ओख्रे भ्यू टावर, ध्वजेडाँडा, थाउजन बिग बुद्ध, कार्की छाप झरना, चाँदी बजार, आहाले, खुवालुङ त्रिवेणी ध्वजे डाँडाँ पदमार्ग, सुर्योदय बौद्ध पार्क, झण्डी डाँडा गोलखाडी, नमस्ते झरनालगायतका ठाउँहरु अवलोकन गर्न सक्नेछ।

फेस्टिबल अवधिमा ती पर्यटकीय स्थल भ्रमण गर्न, खान, बस्नका लागि तीनदिने प्याकेज सहुलियत दरमा बनाएको बताउँदै अध्यक्ष लिम्बुले जानकारी दिएका छन्।  

आयोजकले फेस्टिबलमा ४० देखी ५० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र २ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको बताउँदै उक्त फेस्टिबलले साँगुरीगढीको स्थानीय अर्गानिक तरकारी तथा फलफूलहरु तथा कृषि उत्पादन, हस्तकलालगायतका समाग्रीहरु र धार्मिक, पर्यटकीय स्थलको प्रर्वद्घन हुने, साना तथा ठुला होटल व्यापार व्यवसाय फस्टाउने, पर्यटकहरुको आगनमन बढ्ने र भौतिक तथा आर्थिक बिकासमा टेवा पुग्ने बताएका छन्।

आयोजक समितीका सचिव रमेश श्रेष्ठले संचालनमा भएको पत्रकार सम्मेलनमा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, नेस्ट भेडेटारका अध्यक्ष नर बहादुर चेम्जोङ, साँगुरीगढी गाउँ पालिका वडा नं ६ का अध्यक्ष दिपक मगर, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेलगायतको उपस्थित रहेको थियो।