धरान, एलाइनेट जिम धरानले कोशी प्रदेश स्तरीय खुल्ला शारिरीक सुगठन प्रतियोगिता ‘छैठौं मिस्टर कोशी–२०८१’ आयोजना गर्ने भएको छ।
प्रतियोगिता आगामी चैत्र २२ र २३ गते धरान १३ स्थीत अमर सेवा समाज भवनमा हुने आज धरानमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएका छन्।
एलाइनेट जिम धरानको २२ औं शारिरीरिक सुगठन प्रतियोगिता अन्तरगतको उक्त ‘छैठौं मिस्टर कोशी–२०८१’ प्रतियोगिताको पहिलो दिन प्रिजजिङ्ग राउण्ड र दोस्रो दिन फाईनल प्रतियागिता हुने एलाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बुले बताए।
पहिलो दिन प्रिजजिङ्ग राउण्डमा एक वजन समुहबाट जम्मा छ जनामात्र खेलाडी छनौट गरिनेछ। प्रत्येक वजन समुहबाट जम्मा पाँच वटा वजन समूह गरि जम्मा ३० जना खेलाडीहरू फाइनलमा प्रतिष्पर्घा गराईने अध्यक्ष लिम्बूले बताए।
उनको अनुसार फाइनल प्रतिष्पर्धामा प्रत्येक वजन समुहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराई प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौं सम्म छनौट गरिनेछ। ती वजन समुहका प्रथम भएका खेलाडीहरूलाई ओभरअल राउन्डमा प्रतिष्पर्धा गराई प्रतियोगिताको विजेता छनौट गरिने छ।
जसमा प्रथम स्थान हासिल गर्न सफल खेलाडीले ट्रफी, कप, मेडल, प्रमणपत्र र नगद एक लाख २५ हजार प्राप्त गर्नेछन्। यसैगरी दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले ट्रफी, कप, मेडल, प्रमणपत्रसहित जनही क्रमशः ५० हजार, ४० हजार, ३० हजार र २० हजार नगद प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगिताको वेष्ट पोजर, मस्कुलर मेन, मोस्ट ईम्प्रुभ बन्ने खेलाडीले जनही नगद पाँच हजारसहित मेडल, ट्रफी प्राप्त गर्नेछन्।
उक्त प्रतियोगितामा सहभागि हुनको लागि कोशी प्रदेशका एउटा क्लबबाट एक जना वजन समुहमा दुई जना खेलाडी र एक जना टिम मेनेजर मात्र सहभागि हुन पाउनेछन्। जम्मा पाँच वटा तौल समुहबाट दश जना खेलाडी र एक जना मेनेजर सहभागि जनाउन पाउने आयोजक संस्थाको कोषाध्यक्ष केशव श्रेष्ठले जानकारी दिएका छन्।