धरान, २५औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता भोलि (शनिबार)बाट धरानमा सुरु हुदैछ।
धरान फुटबल क्लबको आयोजनामा धरान १६ स्थीत रंगशालामा हुने प्रतियोगिताको अन्तिम तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन्।
फुटबल क्लबले रजत जयन्तीको रुपमा आयोजना गर्न लागेको प्रतियोगिताको उदघाटन भव्य बनाउने तयारी पुरा भएको बिहिबार धरानमा पत्रकार सम्मेलन गरि आयोजकले जनाएको छ।
प्रतियोगितामा भुटानको आरटीसी फुटबल क्लब र भारतको युकेएफसी सहित ८ टिमले सहभागिता जनाउनेछन्। प्रतियोगितामा ए डिभिजनका चर्च ब्वाईज क्लब, नेपाल पुलिस क्लब र एनआरटी क्लबले सहभागिता जनाउनेछन् भने आयोजक धरान फुटबल क्लब, राजा क्लब इटहरी र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले समेत सहभागी हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिएका छन्।
प्रतियोगिताको २५ औं संस्करणको अवसरमा उद्घाटन समारोह विशेष हुने आयोजकले जनाएको छ। उद्घाटन समारोहमा विद्यालयहरुको मार्च पास, ८० जनाको समुहको विशेष नृत्य र ५ पाउण्डको केक काट्ने कार्यक्रम रहेको अध्यक्ष तामाङले जानकारी दिए।
चर्च ब्वाइज युनाइटेड काठमाडौ र नेपाल पुलिस क्लब काठमाडौले उद्घाटन खेल खेल्दैछन्। माघ १९ गतेदेखि २६ गतेसम्म धरान रंगशालामा प्रतियोगिता चल्नेछ।
पुरस्कार राशी प्रायोजनबाटै
प्रतियोगिताको पुरस्कार राशीहरु प्रायोजनबाटै प्राप्त हुने भएको छ। प्रतियोगिताको प्रथम पुरस्कार १० लाख रुपैया धरान बहराइन एकता समाज र धरान समाज युकेबाट प्रायोजन हुने र दोस्रो पुरस्कार ५ लाख रुपैया क्लबका शुभचिन्तक अरुण राईले पोर्चुगलबाट प्रायोजन गरिदिने भएको क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिएका छन्।
त्यस्तै गरी प्रत्येक खेलको म्यान अफ द म्याच धरानको माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले, प्रतियोगिताको उत्कृष्ट खेलाडी केन्द्र लिम्बूले पोर्चुगलबाट र विधागत उत्कृष्ट ७ जनालाई केल्मे ब्राण्डले प्रायोजन गरेको छ।