धरान, सडक दुर्घटना न्युनिकरण सम्बन्धी धरानका यातायात मजदुरहरुलाई आज प्रशिक्षण प्रदान गरिएको छ।
सडक दुर्घटनामा ज्यान गुमाउने र कारागार जाने चालकहरुको संख्या बढीरहेकाले बन्दकाबीच सवारीका चालकहरुलाई सडक सुरक्षा सचेतना गराइएको हो ।
विषय प्रस्तुत गर्दै मजदुर नेता भीमज्वाला राईले नेपालको सार्वजनिक यातायात विकल्पहिन साधन भएपनि असुरक्षित रहेको तथ्य प्रस्तुत गरेका छन्। प्रत्येक दिन न्युनतम सातजनाको ज्यान सडक दुर्घटनामा गइरहेको र न्युनतम ४० जना नागरिक घाइते भइरहेको मजदुर नेता राईले बताए।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष रहेका राईले सडक दुर्घटना हुनुमा भौतिक कारण, मानवीय कारण, यान्त्रिक कारण र पर्यावरणीय कारण रहेको उल्लेख गर्नुहुँदै चालकहरु धैर्य र संयमित बन्नसके मानविय त्रुटिले हुने दुर्घटनालाई न्युनिकरण गर्न सकिने बताएका छन्।
उनले तथ्य प्रस्तुत गर्दै भन्नुभयो भौतिक रुपमा सवारीसाधनको आवश्यक्ता, यात्रुको चाप, प्रकृतिका आधारमा आयात, ट्राफिक व्यवस्थापनलाई आधुनिकिरण र सडक निर्माणको सन्तुलनलाई सन्तुलित बनाउनुपर्ने, मानविय कारणहरुमा चालकहरुले मादक पदार्थ र लागु पदार्थ सेवनलाई पूर्ण अन्त्य, चालकहरुको उमेर, अस्वस्थ प्रतिष्पर्धा तिब्र गतिलाई नियन्त्रण गर्नु पर्ने बताए।
विषय प्रस्तुत गर्दै यान्त्रिक कारण अन्तर्गत नेपाली बजारमा विक्रि वितरण हुने नक्कली पार्टपूर्जाहरु र कमसल इन्धन विक्रिवितरणमा रोक लगाउँदै नियमन र मापदण्ड निर्माण गर्नु पर्ने र पर्यावरणीय कारण अन्तर्गत सितलहर, हुस्से, अति वर्षा, बाढी, पहिरोको अवस्थामा पूर्व सूचना दिने प्रविधि र अनुशिक्षणमा ध्यान दिनु पर्ने बताए।
कार्यक्रममा नेपाल यातायात स्ववसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले मादक पदार्थ र लागु पदार्थ सेवन गरेर सवारी चलाएको प्रमाणित भएमा त्यस्ता सवारीसाधनलाई छुटपुर्जी रोक्का गरिने बताए।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले सडक दुर्घटना हुँदा राज्यले अनुसन्धान गरेर गल्ती गर्ने सवारीसाधनलाई क्षतिपुर्ति भराइने कोशी प्रदेश यातायात व्यवस्था ऐनमा उल्लेख भएको भएतापनि गल्ती नहुँदा पनि ठुलो सवारीसाधनले तिर्नु परेको बताए।
इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी प्रकास जबेगुले सडक दुर्घटनाहुँदा चालकहरु र सवारी धनीलाई प्रभावित हुने सवारी तथा यातायात व्यवस्था ऐनका दफाहरु बारे प्रशिक्षित गरे। उनले सवारी ऐनको दफा १६१ र १६२ का चालकहरुलाई हुने कानुनी सजायबारे प्रस्तुत गरे।
त्यस्तै सडकमा हिड्दा चालकहरुले अपनाउनुपर्ने ट्राफिक नियमहरुका बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापाले अनुशिक्षण गरे। उनले सडकमा निस्कनुअघि चालकहरुले सवारीसाधनको अवस्था र जाँच गर्नुपर्ने विषयहरु बारे अवगत गराउनुहुँदै चालकहरुले साथमा राख्नु पर्ने कागजात बारे प्रशिक्षण प्रदान गरे।
पूर्वाञ्चल यातायात व्यवसायी संघको सभाहलमा सम्पन्न कार्यक्रम नेपाल यातायात स्ववसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, ट्राफिक प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानले संयुक्त रुपमा आयोजना गरेको हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सदस्य लक्ष्मी बानियाँले सञ्चालन गरेको प्रशिक्षणमा धरानका १ सय ५ जना यातायात मजदुरहरुको उपस्थिति रहेको थियो।
यातायात बन्द रहेको अवस्थालाई उपयोग गर्दै यातायात मजदुर तथा व्यवसयीहरुलाई ज्ञानबर्धक कार्यक्रमको आयोजना गरिएको नेता लक्ष्मी बानियाँले बताए।



प्रतिक्रिया