धरान, डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) २५औ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रबेश गरेको छ।
आज धरान रंगशलामा भएको अन्तिम क्वाटरफाइनल खेलमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) झापालाई ३-१ गोल अन्तरले पराजित गर्दै एनआरटीले सेमिफाइनलका लागि पाहुना टोली भारतको युनाइटेड कर्साङसँगको भेट पक्का गरेको हो।
खेलको पहिलो हाफ दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। एनआरटीका लागि खेलको ४८ औ मिनेटमा शिशिर लेखीले टिमका लागि पहिलो गोल गरेका थिए। उनले बिदेशी खेलाडि रोबर्ट कोबिनाको पासमा सुन्दर गोल गरे।
त्यस्तै, खेलको ६० औ मिनेटमा सरोज घिसिङ र ८० औ मिनेटमा रोहन खड्गीले गोल गर्दै एनआरटीका लागि सहज जित निकाले। घिसिङ र खड्गीले सुमित श्रेष्ठको पासमा गोल गर्दै झापालाई स्तब्ध बनायो।
झापाका लागि भने एक मात्र सान्त्वना गोल रोबेर्ट खोङजोले फर्काएका थिए। उनले २ मिनेट नबित्दै खेलको ६२ औ मिनेटमा गोल फर्काएपनी झापाको सेमिफाइनल पुग्ने चहाना अधुरो रह्यो।
खेलको सुरुवाती २ मिनेटमा झापाका लागि बिदेशी खेलाडि रोबर्टको प्रहार एनआरटीका गोलरक्षकले मुस्किलले बचाए। खेलको १६ औ मिनेटमा रोबर्ट वान भर्सेस वानमा पनि गोल गर्न चुके।
झापाका खेलाडीले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा फेरी एकपटक बुढासुब्बा गोल्डकप जित्ने चाहाना झापाको अधुरो रह्यो। खेलको अन्तिम मिनेटमा शिशिर लेखी वान भर्सेस वानमा गोल गर्न चुक्दा एनआरटीले थप फराकिलो अन्तर बनाउने अवसर खेर फाल्यो।
खेलको म्यान अफदि म्याच एनआरटीका शिशिर लेखी घोषित हुँदै नगद १० हजारसहित ट्रफी हात पारे। एनआरटी बुढासुब्बा गोल्डकपको दुई पटकको बिजेता पनि हो।
बुधबारको पहिलो सेमिफाइन खेल भुटानको आरटिसी फुटबल क्लब र चर्च ब्याइज युनाइटेड काठमाण्डौबिच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ।
माघ २६ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ।