धरान, धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा मोरङको सम्राट स्पोर्टिङ क्लब र धाइजन चारआली फुटबल क्लब विजयी हुँदै आ–आफ्नो समुहको शिर्ष स्थानमा उक्लिएका छन् ।
मंगलबार धरान रंगशालामा भएको पहिलो खेलमा लाइब्रेरी फुटबल क्लब भोजपुर लाई ५–१ ले पराजित गर्दै सम्राट स्पोर्टीङ क्लब मोरङ तीन अंक सहित समुह बीको शिर्षस्थानमा उक्लिएको छ।
सम्राट स्पोर्टीङकालागी हरि खवासले ह्याट्रिक गरे। उनले खेलको पहिलो हाफमा एक गोल र दोस्रो हाफाम २ गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्। उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरे।
त्यस्तै गरी डेबिट मगर र अंकित लिम्बूले थप गोल गर्दै सम्राट स्पोर्टीङलाई ५–१ को फराकिलो जित दिलाए। भोजपुरकालागी सुसन तामाङले एक गोल फर्काएका थिए।
समान तीन अंक भएको गाईघाट फुटबल क्लब गोल संख्याको आधारमा दोस्रो स्थानमा रहेको छ । समुह विजेताको टुंगो लगाउन बुधबार सम्राट स्पोर्टीङ र गाईघाट बीच समुह बी को अन्तिम खेल हुनेछ । भोजपुर भने लिगको दुवै खेलमा पराजित हुदै घर फर्किएको छ ।
त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा धनकुटाको देउराली युथ क्लबलाई ३–० ले पराजित गर्दै झापाको धाइजन चारआली फुटबल क्लब तीन अंक सहित समुह सीको शिर्ष स्थानमा रहन सफल भएको छ।
धाइजनकालागी सागर रसाईलीले दुई गोल गरेका थिए भने निश्चल बस्नेतले एक गोल थपेका थिए। सागर रसाइली खेलको म्यान अफ द म्याच समेत घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।
बुधबार समुह डी अन्तर्गत ताप्लेजुङको प्रगतिशिल युथ क्लब र खोटाङको बुइपा–११ बीच पहिलो खेल हुने र समुह बी अन्तर्गत उदयपुरको गाईघाट फुटबल क्लब र मोरङको सम्राट स्पोर्टीङ क्लब बीच दोस्रो खेल हुने आयोजकले जानकारी दिएको छ।
कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरुको सहभागीता रहेको कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले जानकारी दिएका छन्। ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरुलाई ४ समुहमा बिभाजन गरिएको छ। समुह बिजेताहरुले लिगको उपाधीकालागी पुनः खेल्नेछन् ।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन्। लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।