धरान, राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत देशभरको समाचारदाताहरु मध्येबाट तीन उत्कृष्ट समाचारदाताहरुलाई नगद सहित पुरस्कृत गरेको छ।
राससको ६४औं वार्षिकोत्सवको अवसरमा देशभरबाट तीन उत्कृष्ट समाचारदाता पुरस्कारबाट सुनसरी, धरानकी स्वर्णीम राई(संगीता), ललितपुरका माधवप्रसाद घिमिरे र कैलालीका तिलकराज ओझालार्ई उत्कृष्ट समाचारदाता पुरस्कार प्रदान गरेको छ।
उनीहरु तीनैजनालाई बुधबार विराटनगरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जनही २० हजार रुपैयाँ नगद सहित सम्मानपत्र प्रदान गरेका छन्।
यसैगरी उत्कृष्ट आलेख पुरस्कार झापाका विशेष समाचारदाता चन्द्रकला भण्डारी र सम्पादक टिकाराम सुनारले प्राप्त गरेका छन्। उनीहरूलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ।
राससले उत्कृष्ट सम्पादन पुरस्कार अन्तर्राष्ट्रिय समाचार शाखाका दिलीपप्रसाद शर्मा र नेपाली समाचार शाखाका छविलाल माललाई जनही १० हजार नगद सहित प्रदान गरेको छ।
उत्कृष्ट समाचार सङ्कलन पुरस्कार भरतपुर कार्यालय प्रमुख नारायणप्रसाद अधिकारी र केन्द्रीय कार्यालयका समाचारदाता कालिका खड्कालाई प्रदान गरिएको छ।
उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २० हजार रुपैयाँ सहित फोटो पत्रकार हरिराम भेटवालले प्राप्त गरेका छन्।