धरान, श्री सुच्चा राई कल्याणकारी समाजले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम र अग्रज व्यक्तित्वलाई सम्मान गर्ने भएको छ।

समाजले २५औँ स्थापना दिवसको अवसरमा शनिबार बिहान ८ बजे धरानको भानुचोक स्थीत लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम गर्ने भएको हो।

यसैैगरी समाजको दुई अग्रज व्यक्तित्वहरु ८६ वर्षीय गंगा सुच्चा राई र ९८ वर्षीय मेखजित राईलाई सम्मान गर्ने आज आयोजकले जानकारी दिएका छन्।

सोही अवसरमा समाजले धरान-११ मा निर्माणाधीन सामुदायिक भवन निर्माण समितिका संयोजक चण्डिप्रसाद सुच्चा राईलाई पनि कदर पत्र प्रदान गर्ने समाजका अध्यक्ष विनोद राईले बताए। 

उनका अनुसार, संस्कार संस्कृतिको संरक्षण गर्दै समाज सेवामा योगदान पुर्‍याउने उद्देश्यले यस प्रकारका कार्यक्रमहरू समाजले सञ्चालन गर्दै आएको छ।

बान्तवा तथा दुङ्माली भाषी समुदायको संस्कृति संरक्षणका लागि बि.सं.२०५६ सालमा समाजको स्थापना गरिएको किरण सुच्चा राईले जानकारी दिएका छन्।

भोजपुरको राम प्रसाद गाउँपालीका स्थित कटुन्जे उद्गमस्थल रहेको सुच्चा राई समुदाय हाल देशभर करिब १२ हजारको संख्यामा रहेको छ।