धरान, धरान फुटबल क्लबले २५औँ अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताबाट ६ लाख ५९ हजार ५० रुपैया बचत गरेको जानकारी गराएको छ।
आज क्लबले धरान १२ स्थीत होटल स्टार पूर्वीमा पत्रकार सम्मेलन गरि गत माघ १९ देखि २६ गतेसम्म आयोजित प्रतियोगिताको हिसाब सार्वजनिक गर्ने क्रममा आयोजकले जानकारी गराएको हो।
धरान १६ स्थीत धरान रंगशालामा सम्पन्न प्रतियोगिताको कुल आय ६६ लाख ९९ हजार १ सय ५० रुपैया, व्यय तर्फ ६० लाख ४० हजार १ सय रुपैया रहेको र बचतमा ६ लाख ५९ हजार ५० रुपैया रहेको क्लबका कोषाध्यष धनबहादुर राईले बताएका छन्।
प्रतियोगिताको लागि सहयोग रकम दिने प्रतिवद्धता गरेका अखिल नेपाल फुटबल संघ एन्फाबाट ५ लाख, राष्ट्रिय खेलकुद परिषद काठमाडौंबाट ३ लाख र धरान उपमहानगरपालिकाका सबै वडाहरुबाट ७ लाख गरि जम्मा १५ लाख रकम प्राप्त हुन बाँकी रहेको बताउदै क्लबका अध्यक्ष अध्यक्ष प्रताप तामाङले ती रकम प्राप्ती भए पछि बचतमा वृद्धि हुने बताए।
प्रतियोगिता आयोजना गर्न विभिन्न व्यक्ति, संघसंस्थाबाट सहयोग रकम संकलन गरेर मात्रै पर्याप्त नभएकाले प्रतियोगिताका लागि अक्षयकोष आवश्यक भएको हो। अध्यक्ष कोषको लागि हङकङ र युकेबाट सहयोग आउने भएको छ।
गत वर्षहरु भन्दा यस वर्ष सहयोग रकम कम प्राप्त भएकाले आगामी प्रतियोगिताका लागि धरान उपमहानगरले वार्षिक रुपमा २० लाख रुपैया बजेट छुट्याएमा प्रतियोगिता आयोजना गर्न सहज हुने क्लबका अध्यक्ष तामाङले बताए।