धरान, नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान नगर समितिको आयोजनामा सम्पन्न ‘बिजनेस एक्स्पो २०८१’ को आय–व्यय सार्वजनिक भएको छ।
गत माघ २६ गते देखि फागुन १० गते सम्म धरान–१६ रंगशालामा संचालन भएको १५ दिने एक्स्पोमा कुल ५ करोडको कारोबार भएको आयोजक नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान नगर समितिका अध्यक्ष शिवराज श्रेष्ठले आज धरानमा पत्रकार सम्मेलन गरि जानकारी गराएका छन्।
हालमा भईरहेको व्यापारिक मन्दीका कारण पनि एक्स्पोले अपेक्षित उदेश्य प्राप्ति गरेको बताएका छन्। धरानमा निरन्तर रुपमा भएको व्यापार व्यवसाय मेला, उत्सव तथा खेलकुद प्रतियोगितालगायतको गतिविधिको बाबजुत पनि एक्स्पो सफल भएको बताउँदै अध्यक्ष श्रेष्ठले उक्त एक्स्पो आयोजनाका लागि लागि आयोजकले ६९ लाख ३२ हजार ५ सय ७० रुपैया आय संकलन गरि एक्स्पो आयोजना खर्च गरेर कुल २ लाख ५८ हजार ८ सय ८५ रुपैयाँ बचत भएको जानकारी गराएका छन्।
एक्स्पोको आय तर्फ स्टल भाडाबाट ५ लाख ७२ हजार, रोटे पिङबाट २ लाख, नेपाल पर्यटन बोर्डबाट १ लाख, प्रदेश सरकारबाट १० लाख, ग्लोबल आइएमई बैङ्कबाट ३ लाख, गोर्खा ब्रुअरी २ लाख, सिल्भर ओकबाट १ लाख ५० हजार, गेट टिकटबाट कुल ३१ लाख ४९ हजार ५सय ७० रुपैयाँ, भीम घिमिरेबाट ५१ हजार, धरान–१५ नंबर वडा कार्यालयबाट ५० हजार, डिभाइन वाइनबाट १ लाख, वाई–वाईबाट ६० हजार, रेडबुलबाट ५०हजार, उद्योग व्यवसायी महासङ्घ २ लाख, उद्योग वाणिज्य आपूर्ति मन्त्रालयबाट ३ लाख ५० हजार, कोकाकोलाबाट ५० हजार, सुर्य ज्योति लाईफ इन्सुरेन्सबाट ५०हजार, पि.एल.ओ/रमपम र सेन्चुरीबाट १/१ लाख गरि ६९ लाख ३२ हजार ५ सय ७० रुपैया आय संकलन भएको हो।
यसैगरी एक्स्पो आयोजनाका लागि टेन्ट, सुरक्षा, स्टेशनरी, सरसफाई, विद्युत, विज्ञापन, भौतिक सामाग्री, ईन्धन, ईन्टरनेट, स्टेशनरी, साँगितिक कार्यक्रम, साउण्ड सिस्टम, यातायातलगायतको खर्च कटाएर २ लाख ५८ हजार ८ सय ८५ रुपैयाँ बचत भएको हो।