झापा, बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य रहात कोष– २०८१’ का सहयोगका लगि संघका कार्यसमिति सदस्यद्वय डिल्लीराम कोइराला र विश्वेश्वरप्रसाद बजगाँई (विपीन)ले एक लाख, एघार हजार, एक सय, एघार रुपैयाँ प्रदान गरेका छन्।
आफ्नो जन्म दिनको अवसर पारेर ‘व्यवसायिक सदस्य रहात कोष’का लागि उनीहरुले उक्त रकम प्रदान गरेका हुन्। जसमा बिर्तामोडका युवा व्यवसायी कोइरालाले कोषका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ र वजगाँईले पनि ५५ हजार ५ सय ५५ रुपैयाँ रकम बरावरको चेक प्रदान गरेका हुन्।
एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी स्थापना गरिएको उक्त कोष वद्धिमा उनीहरुले सहयोग पुर्याउन भन्दै संघका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गरेका हुन्।
बिर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्वहरुले बिर्तामोड उद्योग वाणिज्य संघले शुरु गरेको उक्त कार्यको प्रशंसा गर्दै कोष वृद्धिका लागि विभिन्न अवसर पारेर संघलाई रकम प्रदान गर्दै आएका छन्।
संघका अध्यक्ष न्यौपाने, कोषका संयोजक राजकुमार घिमिरे राजु सहितका पदाधिकारीलाई उनीहरुले उक्त रकम प्रदान गरेका हुन्। सो अवसरमा उनीहरुलाई बिर्तामोड उद्योग वाणिज्य संघले जन्म दिनको शुभकामना सहित कदरपत्रद्वारा सम्मान गरेको छ। कार्यक्रमको संचालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए।