धरान, किरात राई समुदायको महान् चाड साकेला उभौली आजबाट सुरु गरिएको छ।

धरान–१४ स्थित विजयपुरमा अवस्थित हाङ बुद्धीकर्ण राईको ऐतिहासिक दरबारमा पुजाआजा गरि ढोल, झ्याम्टा फुकाई विधिवत् रूपमा चाडको शुभारम्भ गरिएको हो।

किरात राई यायोक्खा प्रारम्भिक कार्य समित धरान–१३ को आयोजनामा विधिवत् रुपमा ढोल, झ्याम्टा फुकाई साकेला उभौली विधिवत रुपमा सुरु गरिएको हो। 

हरेक वर्ष बैशाख पूर्णिमाको दिन किरात राई समुदायले अन्नबाली राम्रो सप्रियोस्, अनिकाल नपरोस्, प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित सिमे भूमि पूजा गरी स्वदेश तथा विदेशमा समेत साकेला सिली नाचेर  साकेला उभौली मनाउँछन्। 

यसै क्रममा किरात राई यायोक्खा सुनसरीले यसपालीको साकेला आज बैशाख २९ गतेबाट नाच्न सुरु गरि आगामी जेष्ठ १७ गते सम्म १५ दिन सम्म ढोल, झ्याम्टाको तालमा सुनसरीको विभिन्न स्थानमा साकेला सिलि नाचेर मनाउने भएको छ। 

साकेला उभौली मनाउने क्रममा किराया सुनसरी अन्तरगतको किराँत राई मैचाङ्छा एकता समाजको आयोजनामा बैशाख ३० गते धरान–४ मा साकेला नाचिने भएको छ।

यसैगरी साकेला नाच क्रमशः ३१ गते किराया धरान नगर समिति र वडा नं.९/१० को आयोजनामा धरान–२ भानुचौकमा, जेष्ठ २ गते किराया धरान–५/६ र भरौलको आयोजनामा बाङ्गे बजार, ३ गते किराया इटहरी–१/१९/२० को आयोजनामा तरहरा, किराया बराहक्षेत्रको आयोजनामा बराहक्षेत्र, किराया प्रकाशपुरको आयोजनामा प्रकाशपुर र किराया धरान–१९ को आयोजनामा धरान–१९ मा हुनेछ। 

यसै गरी ४ गते किराया इटहरी– ६ को आयोजनामा तायारिप्चि भवन ईटहरीमा, ५ गते किराया इटहरी–२ शान्तिनगरको आयोजनामा साकेला धार्मिक वन पानीपियामा, किराया बक्लौरीको आयोजनामा बक्लौरी–४ मा, ६ गते किराया धरान–१७ को आयोजनमा धरान–१७ मा, किराया महेन्द्रनगरको आयोजनमा चक्रघट्टीमा, ७ गते किराया धरान–८ को आयोजनामा यलम्बर सामुदायिक वन धरान–८ मा हुने भएको छ।

यस्तै ९ गते किराया धरान–१८ को आयोजनामा रत्नचौक धरान–१८ मा,  १० गते किराया धरान–५/६ को आयोजनामा श्री सुम्निमा साँस्कृतिक स्थल धरान–५ मा, ११ गते किराया धरान–१५ को अयोजनामा साकेला धार्मिक वन महादेव चौकमा साकेला नाच हुनेछ। 

अन्तमा १७ गते किराया सुनसरीको आयोजनामा धरान–१७ स्थीत साकेला साँस्कृतिक पार्कमा वडा कार्य समिति स्तरीय प्रतियोगितात्मक साकेला शिली प्रर्दशनी कार्यक्रम ५०८५ आयोजना गरि यस वर्षको साकेला उभौली विधिवत रुपमा समापन गर्ने आयोजकले जानकारी दिएका छन्। 

आयोजकका अनुसार उक्त प्रतियोगितात्मक साकेला शिली प्रर्दशनीमा प्रथम बन्ने समूहलाई ४० हजार, दोस्रोलाई ३० हजार, र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

यसैगरी, धरान बाहिर र धरान भित्रका १३ वटा विधाबाट पनि वडास्तरीय समूहहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। जसअनुसार प्रथमलाई ७ हजार, दोस्रोलाई ६ हजार, र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।