धरान, नेकपा माओवादी केन्द्रका भातृ संगठनहरू किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपाल र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ।
धरानमा सम्पन्न सम्मेलनले किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा रामकुमार राई (पासाङ) तथा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा मुक्सामहाङ मेन्याङ्बो (मुकेश) चयन भएका हुन्।
पार्टीका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा खोटाङका वर्तमान संघीय सांसद समेत रहेका किराँती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष रामकुमार राई (पासाङ) नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिति गठन भएको छ।
जसमा वरिष्ठ उपाध्यक्ष तिलक प्रसाद राई, उपाध्यक्षहरू सुशिल वान्तवा राई, अर्जुन जम्नेली र ज्ञानबहादुर राई चयन भएका छन्।
यसैगरि महासचिवमा वसन्त वान्तवा राई, सचिवहरूमा विर्सिका राई, सन्तोष मुकमिङ, देवान तिलुङ राई, दिनेश किराती तथा कोषाध्यक्षमा कृपा राई चयन भएका छन्।
यसैगरी पार्टीको केन्द्रिय सदस्य रहेका लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष मुक्सामहाङ् मेन्याङ्बो (मुकेश)को नेतृत्वमा ११७ सदस्यीय केन्द्रिय समिति गठन भएको छ।
जसमा उपाध्यक्षहरु संखध्वज नेम्बाङ, प्रेम मिभक, तेजमान कन्दङवा, चेतना श्रेङ र सेर बा. तुम्बापो रहेका छन्। भने महासचिव पकन्दी लिम्बु चयन भएकी छन् ।
संयुक्त सम्मेलनको उद्घाटन बैशाख २८ गते धरानको भानुचोकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेका थिए।