धरान, चलचित्रको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले इलामको श्रीअन्तुमा तीन दिने चलचित्र पर्यटन महोत्सव २०८२ सुरु भएको छ।
चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको महोत्सवको उदघाटन इलाम श्रीअन्तु स्थीत केबी एस हिल्स रिसोर्टमा बुधबार कार्यक्रमको प्रमुख अतिथी रहेका चलचित्र बिकास वोर्डका अध्यक्ष दिनेश डिसीले गरेका छन्।
चलचित्र पत्रकर संघ कोशीको संयोजन, संघको इलाम, झापा, सुनसरी र मोरङको व्यवस्थापनमा जेष्ठ ७ गते देखि ९ गते सम्म इलामको श्री अन्तु, फिक्कल, इलाम बजारमा विविध कार्यक्रमको साथ महोत्सव संचालन भईरहको छ।
महोत्सवको पहिलो दिन उदघाटन समारोहमा संघको २६औं बार्षिक उत्सव तथा २३औं चलचित्र पत्रकारिता दिवस कार्यक्रम पनि मनाईएको छ।
उक्त अवसरमा पाँच जना चलचित्र पत्रकारलाई सम्मान र दुई जना पत्रकारलाई पुरस्कृत गरिएको छ।
जसमा नगद ५५ हजार सहित राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८२ बाट ध्रुव लम्साललाई सम्मानित गरिएको छ।
यसैगरी नगद ५१ सहित राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८२ बाट विष्णु सुबेदी, नरेन्द्र बस्नेत, जीवनकुमार पराजुली, वर्ष बस्नेतलाई सम्मान गरिएको छ।
यसैगरी नगद २५ हजार सहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८२ बाट तुलसी प्रसाद निरौला र राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८२ बाट रश्मी थापालाई पुरस्कृत गरिएको छ।
चलचित्र पत्रकार संघ नेपालको अध्यक्ष समिर बलामीको सभापतित्व, अभिनेता शिव श्रेष्ठ, अभिनेत्रीद्वय गौरी मल्ल र वसुन्धरा भुषाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष तथा सल्लाहकारद्वय विदुर गिरी र शान्तिप्रिय, निवर्तमान अध्यक्ष दिनेश सिटौलालगायतको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी दिनेश डिसीले सम्मान गरेको हो।
देशका सातै प्रदेशबाट सहभागी भएका चलचित्र पत्रकार तथा अतिथिहरुलाई चलचित्र पत्रकार संघ कोशीकि अध्यक्ष सन्जु राईले स्वागत गरिन् भने संघका महासचिव रघुनाथ सापकोटाले कार्यक्रम संचालन गरे।
पहिलो दिनको उदघाटन पूर्व चलचित्र पत्रकारिता दिवस-२०८२ को अवसरमै चलचित्र र चलचित्र पत्रकारिता र विधागत पत्रकारित विषयमा अन्तरक्रिया कार्यक्रम पनि गरिएको छ।
चलचित्र र चलचित्र पत्रकारिता विषयमा अन्तरक्रिया गरिएको थियो। पत्रकार विष्णु सुवेदीले सहजीकरण गरेको अन्तरक्रियामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले पत्रकार र कलाकार दुबैले आचार संहिताभित्र रहेर अघि बढ्नुपर्नेमा जोड दिए।
त्यस्तै वसुन्धरा भुषालले कलाकार र पत्रकार एउटै परिवार भएको जनाउँदै दुबै सही ढंगबाट अघि बढ्नुपर्ने सुझाव दिइन्, भने अभिनेत्री गौरी मल्लले पत्रकारिताको क्षेत्रबाट कलाकारले ज्यान गुमाउन परेका घटना पनि भएको स्मरण गराउँदै खबरदारीका नाममा चरित्र र व्यक्तिगत जीवनमा जान नहुने धारणा व्यक्त गरिन्।
पत्रकार शान्तिप्रियले पत्रकारले सबैभन्दा पत्रकारिताको नाममा विज्ञापनकारिता गर्न नहुने बताए। नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले पत्रकारिता क्षेत्रले सिनेमा क्षेत्रको गल्ति र कमीकमजोरी औँल्याएर खबरदारी गरिहनुपर्ने बताए।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले कलाकारहरूले मिडियामा कतिसम्म बोल्ने भन्ने विषयमा सचेत हुनुपर्ने चर्चा गरे।
उनले सचेतनाका लागि संघले विभिन्न कार्यक्रम गरे पनि सेलिब्रेटी भनिएका कलाकारहरू सामेल नहुनु विडम्बना भएको बताए। सोही अवसरमा पत्रकारहरूबीच मिडिया मन्थन समेत गरिएको थियो।
संघका अध्यक्ष समिर बलामीले सहजीकरण गरेको मिडिया मन्थनमा संघका पूर्व अध्यक्ष विदुर गिरीले विगतमा फिल्म पत्रकारितालाई मूल पत्रकारिता नमान्ने अवस्था रहेपनि अहिले स्थापित विधा भएको चर्चा गरे।
नेपाल पत्रकार महासंघका पूर्व सचिव ध्रुव लम्सालले नेपाल पत्रकार महासंघले सीमित स्रोत र साधनका कारण चाहेर पनि विधागत पत्रकारिताका लागि काम गर्न नसकेको बताए। मिडिया मन्थनमा प्रेस युनियनका अध्यक्ष शिव लम्साल र प्रेस सेन्टरका अध्यक्ष कमल गिरी विधागत पत्रकारिताका विविध विषयमा चर्चा गरेका थिए।
महोत्सव अन्तरगत विहिबार चलचित्र र पर्यटन सम्बन्धीको अन्तरक्रिया सिनेमा संवाद कार्यक्रम गरेको छ। उक्त सिनेमा संबादमा कोशी पर्यटन वर्ष–२०८२ अन्तरगत पर्यटन कार्यलय काकरभिट्टाका कार्यलय प्रमुख छबि खतिवडा, चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता शिव श्रेष्ठ, निर्देशक मिलन चाम्स, निर्देशक तथा कोरियोग्राफर रेनाशा राई सहभागि रहेको उक्त संवादको सहजीकरण पत्रकार शान्तिप्रियले गरेका छन्।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ श्रीअन्तुमा आयोजित महोत्सवमा दोस्रो राष्ट्रिय भेला गर्दै कार्यशाला पनि सम्पन्न गरिएको छ।