धरान, नेपाल चलचित्र पत्रकार संघ नेपालद्वारा इलामको श्रीअन्तुमा आयोजित ‘चलचित्र पर्यटन महोत्सव–२०८२’ तथा दोस्रो राष्ट्रिय भेला ११ वुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

संघको दोस्रो राष्ट्रिय भेला चलचित्र (सिने) पर्यटनलाई जोड दिँदै ११ बुँदे 'श्रीअन्तु घोषणा पत्र' जारी गर्दै आज समापन भएको हो।

घोषणा पत्रमा नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ। साथै, नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा संस्थासँग सहकार्य-समन्वय गरी प्रोत्साहन र प्रवर्धनका गर्न पनि आग्रह गरिएको छ।

अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोककल्याणकारी विज्ञापनमा समेट्न माग गर्दै संघले आफ्ना सदस्यलाई पेसागत सुरक्षा भत्ता मासिक रूपमा उपलब्ध गराएको र आफ्नै पहलमा कल्याणकारी कोष खडा गर्ने योजना रहेको पनि घोषणापत्रमा उल्लेख छ।

साथै, कल्याणकारी कोष शीर्षकमा नेपाल पत्रकार महासंघलाई बुझाउँदैआएको शुल्क अब आफ्नै कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय पनि भेलाले गरेको छ। 

विधागत पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवर्धनका लागि विशेष योजना बनाउन संघले माग गरेको छ भने श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन पनि माग गरिएको छ।

‘इलामका स्थानीय तहमा चलचित्र र पर्यटन विकास, विस्तारका लागि कार्ययोजना बनाएर अघि बढ्न माग गर्दछ,’ घोषणापत्रमा उल्लेख छ, ‘सूर्याेदय नगरपालिका भारतीय सीमासँग जोडिएको स्मरण गराउँदै केही भू–भागमा दुई मुलुकबीच आवतजावत असहज भएकाले सहज हुने वातावरण निर्माणका लागि जोडदार माग गर्दछ।’

सूर्याेदय नगरको पर्यटन विकास र विस्तारमा सघाउन तथा सिनेमा पर्यटनलाई जोड्दै विभिन्न कार्यक्रम तय गर्न पनि संघको माग छ। 

भेलामा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, कलाकारहरू शिव श्रेष्ठ, बसुन्धरा भुसाल, गौरी मल्ललगायत पनि सहभागी भए।

चलचित्र पत्रकर संघ कोशीको संयोजन, संघको इलाम, झापा, सुनसरी, मोरङको व्यवस्थापनमा जेष्ठ ७ गते देखि ९ गते सम्म इलामको श्री अन्तु, फिक्कल, इलाम बजारमा महोत्सव अन्तरका कार्यक्रमहरु राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, संघको २६औं वार्षिकोत्सव, दोस्रो राष्ट्रिय भेला र चलचित्र पत्रकारिता कार्यशालाका विविध सत्रहरू संचालन गरिएका थिए।

जसमा पहिलो दिन ‘नेपाली चलचित्र र पत्रकारिताको सम्बन्ध र अवस्था’ विषयमा अन्तरक्रिया गरिएको थियो, जसमा चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्रीद्वय गौरी मल्ल, वसुन्धरा भुसाल, निर्देशक, निर्माता मोहन निरौला, जनकदीप पराजुली, शान्तिप्रिय लगायतले विचार राखेका थिए। कार्यक्रमको सञ्चालन विष्णु सुवेदीले गरेका थिए। 

यसैगरी ‘मिडिया मन्थन’ विषयमा पत्रकारहर शिव लम्साल, कमल गिरी, विदुर गिरी, ध्रुव लम्साल र समीर बलामीबीच गहिरो छलफल भयो। 

सोही दिन इलाम श्रीअन्तुको पर्यटन सम्भावना र प्रवर्द्धनबारे पनि परिचर्चा कार्यक्रम आयोजना गरिएको थियो।

श्रीअन्तु स्थीत केबी एस हिल्स रिसोर्टमा भएको उक्त कार्यक्रममा संघको अध्यक्ष समीर बलामीको सभापतित्व तथा चलचित्र बिकास वोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा पाँच जना चलचित्र पत्रकारलाई सम्मान र दुई जना पत्रकारलाई पुरस्कृत गरिएको छ। 

जसमा नगद ५५ हजार सहित राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८२ बाट ध्रुव लम्साललाई सम्मानित गरिएको छ।

यसैगरी नगद ५१ सहित राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८२ बाट विष्णु सुबेदी, नरेन्द्र बस्नेत, जीवनकुमार पराजुली, वर्ष बस्नेतलाई सम्मान गरिएको छ।

यसैगरी नगद २५ हजार सहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८२ बाट तुलसी प्रसाद निरौला र राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८२ बाट रश्मी थापालाई पुरस्कृत गरिएको छ।

दोस्रो दिन ‘सिनेमा पर्यटन संवाद’ अन्तर्गत निर्देशक तथा कोरियोग्राफर रेनाशा राई,अभिनेता शिव श्रेष्ठ, निर्देशक मिलन चाम्स, पर्यटन कार्यलय काकडभिट्टाका प्रमुख छबि खतिवडा र पत्रकार शान्तिप्रियबीच विचार-विमर्श भयो। 

त्यस्तै स्थानीय पर्यटन स्थल र सिनेमाबीचको सम्बन्धबारे अन्तर्क्रिया कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष डिसी, सूर्योदय नगरपालिकाका उप-मेयर दुर्गा कुमार बराल, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार राई, अभिनेता शिव श्रेष्ठ, अभिनेत्री द्वय गौरी मल्ल, वसुन्धरा भुसाल लगायतको सहभागिता रहेको थियो।

विविध कार्यक्रमका साथ संचालित महोत्सवको अन्तिम दिन तेस्रो दिन दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे 'श्रीअन्तु घोषणा पत्र' जारी गर्दै समापन भएको हो।