धरान, नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा युनियनको सुनसरी शाखाले इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पत्रकारिता क्षेत्रका अग्रणी व्यक्तित्वहरू, संस्थाका प्रतिनिधिहरू र विभिन्न सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा युनियनका पूर्व अध्यक्ष हर्ष सुब्बाले श्रमिक पत्रकारहरूको हक–अधिकारको संरक्षणका लागि प्रेस युनियनको स्थापना भएको स्मरण गर्दै, आधुनिक प्रविधिको समुचित उपयोगमार्फत मात्र पत्रकारिता पेशालाई जोगाउन सकिने धारणा व्यक्त गरे।
नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनजाति पत्रकार महासंघ (फोनिज) कोशी प्रदेशकी उपाध्यक्ष सुप्रिया राई, सञ्चारिका समूह सुनसरीकी अध्यक्ष रञ्जना पौडेल र महासचिव ज्योति पोखरेललाई विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा युनियन सुनसरीका पूर्व अध्यक्ष चेतन धमला, नेपाल प्रेस युनियन कोशी प्रदेशका सचिव विनय बाराकोटी लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।