धरान, राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. १ ले धरानमा शुभकामना आदान–प्रदान तथा सहभोज कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता र केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम शनिबार सम्पन्न भएको हो।
प्रमुख अतिथि विश्वकर्माले जातीय विभेद र छुवाछुतको समस्याबारे धारणा राख्दै अहिले पनि पश्चिम नेपालमा यो समस्या विकराल रुपमा रहेको बताए। उनले नेपाली कांग्रेसले समावेशी लोकतन्त्रको अभ्यास गर्दै दलित समुदायसहित सबै वर्ग, जाति र भूगोलको न्यायोचित विकासका लागि निरन्तर काम गरिरहेको स्पष्ट पारे।
कांग्रेसकै सरकारका बेला राष्ट्रिय दलित आयोग गठन गरिएको, र संविधानमार्फत दलित अधिकार सुनिश्चित गरिएको जानकारी गराए।
कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा क्षेत्रीय सभापति सुजेन्द्र तामाङले २००९ साल जेठ १० गते वी.पी. कोइरालाको नेतृत्वमा विविध समुदायबीच सहभोज आयोजना गरिएको ऐतिहासिक घटनाको सम्झनामा यो दिवस मनाइएको बताए। उनले यो कार्यक्रम मात्र शुभकामना आदान–प्रदान नभई सामाजिक सद्भाव र एकताको अभियान भएको उल्लेख गरे।
अन्य वक्ताहरूमा प्रदेश महामन्त्री उमेश थापा, पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, दलित विभाग प्रमुख गणेश परियार, नेपाल दलित संघका प्रदेश सभापति गोविन्द दर्नाल, कांग्रेस सचिव माधव घिसिङ, जनप्रतिनिधिहरू रिता सुन्दास र मिरा विक लगायतले जातीय विभेदको अन्त्य, समावेशी विकास, र सहभोजको सामाजिक सन्देशबारे धारणा राखे।
कार्यक्रममा विश्वकर्मा, परियार, मिजार, मरिक, वादी, गन्धर्व लगायतका समुदायबाट प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। संचालन क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले गरेका थिए।