धरान, गणतन्त्र दिवस २०८२ को अवसरमा कोशी प्रदेश सरकारले विराटनगरमा भव्य सांगीतिक कन्सर्ट आयोजना गर्ने भएको छ।

प्रदेश सरकारले बिहिबार, जेठ १५ गते विराटनगरको महेन्द्र चोकमा ‘राष्ट्रिय भावनाले ओतप्रोत’ गीत–संगीतहरू प्रस्तुत गरिने विशेष कन्सर्ट आयोजना गर्न लागेको हो।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वमा रहेको गणतन्त्र दिवस प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा तथा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको सहआयोजनामा हुन लागेको कन्सर्ट दिउँसो ३ बजे सुरु हुनेछ।

कन्सर्टमा लोकप्रिय गायिका रचना रिमाल, अन्जु गौतम, सृष्टि हाङमाङ, सुमित खड्का लगायतका कलाकारहरूको गीत तथा गरिमा डान्स सेन्टर धरानको नृत्य प्रस्तुति हुनेछन्।

गणतन्त्र दिवसकै अवसरमा विविध कार्यक्रमहरू पनि आयोजना हुने भएका छन्। जस अन्तरगत राजनीतिक दलका नेताहरूको उपस्थितिमा ‘संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर, सम्भावना र चुनौती’ विषयमा अन्तरक्रिया कार्यक्रम, प्रभातफेरी, पत्रकार सम्मान, निवन्ध प्रतियोगितालगायतको कार्यक्रम रहेको छ।

प्रभातफेरी बिहिबार विहान रोडशेष चोकदेखि महेन्द्र चोकसम्म गरिनेछ। सोही दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पत्रकारहरूलाई सम्मान गरिनेछ भने निबन्ध प्रतियोगिताका विजेतालाई समेत पुरस्कृत गरिने मूल समारोह समितिले जानकारी दिएको छ।

Polish_20250528_125657107 1