धरान, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलाई श्रम आन्दोलनमा लामो समयदेखिको योगदानका आधारमा “गतिशील नेता”का रूपमा सम्मान गरिएको छ।

उक्त सम्मान नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट इकाई धनगढीको दोस्रो अधिवेशनको उद्घाटन सत्रको अवसरमा बुधबार प्रदान गरिएको हो।

अधिवेशनको अध्यक्षता गरेका भानदेव पनेरुले राईलाई श्रम आन्दोलनका गतिशील ज्वाला भन्दै मजदुर आन्दोलनसँगै पत्रकारिता, साहित्य, सामाजिक विभेद अन्त्य र असहायको सेवामा समर्पित रहेको कारण सम्मान गरिएको जानकारी दिए।

कार्यक्रममा प्रमुख विशिष्ट अतिथि तथा नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका एसएसपी प्रकाश मल्लले भीमज्वाला राईलाई दोसल्ला ओढाई र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए।

उक्त अवसरमा अन्य व्यक्तित्वहरूलाई पनि विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो। जिफन्ट प्रदेश अध्यक्ष जितबहादुर मल्ललाई कुशल संगठन सम्मान, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश संयोजक टेकराज जोशीलाई दूरदर्शी व्यवसायी नेतृत्व सम्मान र सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.का अध्यक्ष पदमराज सापकोटालाई संरक्षक सम्मान प्रदान गरिएको थियो।

अधिवेशनको उद्घाटन गर्दै नेता राईले सार्वजनिक यातायात प्रणालीमाथि सरकार कमिसनको प्रभाव र दलालहरूको दबाबमा आएर असंवैधानिक कदम चालिरहेको आरोप लगाए। उनले निजी सवारीसाधनलाई यात्रु ओसारपसारको अनुमति दिन सवारी तथा यातायात व्यवस्था ऐनको विपरीत नियमावली ल्याइएको भन्दै कडा आपत्ति जनाए।

उनले भने, “गण्डकी लगायतका प्रदेश सरकारले रातो नम्बर प्लेट भएका दुईचक्के र चारचक्के सवारीसाधनलाई यात्रु ओसारपसारको अनुमति दिने नियमावली ल्याउँदैछन्, जुन सार्वजनिक यातायातको अस्तित्वमाथिको प्रहार हो।”

राईले सवारी ऐन संशोधन प्रक्रियामा हुँदा–हुँदै पनि लगानीकर्ता तथा श्रमिकका सरोकार समेटिनेगरी कार्य नगरेको भन्दै संविधानविपरीतका ऐन तथा नियमावली तत्काल खारेज गर्न माग गरे। अन्यथा व्यवसायी र मजदुर संयुक्त रूपमा सडक संघर्षमा उत्रने चेतावनी समेत दिए।

कार्यक्रममा एसएसपी प्रकाश मल्ल, जिफन्ट प्रदेश अध्यक्ष जितबहादुर मल्ल, महासंघ प्रदेश संयोजक टेकराज जोशी, संगठनका प्रदेश अध्यक्ष ललित चन्द, बागमती प्रदेश अध्यक्ष शंकर थापा, सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.का अध्यक्ष पदमराज सापकोटालगायतका विशिष्ट अतिथिहरूले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन रामसिं महराले गरेका थिए।