धरान, परम्परागत र निर्वाहमुखी कृषिलाई न्युनिकरण गर्दै हावापानी र भूगोल अनुरुपको व्यवसायिक नगदेबाली उत्पादनमा कृषक उन्मुख हुनुपर्ने कोशी प्रदेश प्रमुख परशुराम खापुङले बताएका छन्।
आज धरान उपमहानगरपालिका–२० स्थित कफी तथा कृषि उद्यम केन्द्रको अनुगमन एवं अवलोकनका क्रममा प्रदेश प्रमुख खापुङले कृषकलाई नगदेबाली उत्पादनमा उन्मुख हुन सुझाएका हुन्।
उनले प्रदेशमा उत्पादित नगदेबाली अन्तरगतका कृषिजन्य वस्तुलाई अन्तरराष्ट्रिय बजारमा पुर्याउन सकिने सम्भावना रहेको धारणा राखे।
हालमा कफी नगदेबालीको रुपमा रहेको र यस्को माग स्वदेश तथा बिदेशमा समेत बढ्दो मात्रामा रहेकाले यसबाट कृषकले राम्रो आम्दानी गर्न सक्ने बताए।
प्रदेश प्रमुख खापुङले कफीको ब्राण्डिङ र लक्षित प्रचारप्रसार मार्फत अन्तरराष्ट्रिय बजारमा समेत नेपालको कफी स्थापित गर्न सकिने उल्लेख गर्दै किसानसँग सहकार्य गरी स्थानीय माटो, हावापानी र मौसम अनुकूल नगदेबाली उत्पादनमा लाग्न सके यसले दिगो आयआर्जन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए।
केन्द्रको निर्देशक अन्जना राईले युवाहरुलाई उद्यमतर्फ आकर्षित गराउन कृषि उद्यम केन्द्र खडा गरेको बताईन्। उद्यमतर्फ लाग्न तालिम प्रदान गर्नका साथै कृषि पेशा बाट नै देश समृद्ध बनाउन सम्भावना रहेको पनि बताईन्।
त्यसैगरी वडा नं. २० का पूर्ववडाध्यक्ष मणिराम राईले आफ्नो कार्यकालमा यस क्षेत्रमा उद्यम केन्द्रको स्थापना भएको बताउँदै गाउँमा धेरै कृषकहरु लाभान्वित भएको बताए।
त्यसैगरी वर्तमान वडाध्यक्ष पदम लिम्बूले हावापानी, माटो अनुकुल समय सापेक्षको बाली उत्पादनमा कृषक लाग्नु पर्ने बताउँदै यसमा तीनै तहको सरकारको साथ सहयोगीको आवश्यकता रहेको बताए।
केन्द्रका अध्यक्ष बलजीत राईको सभापतित्वमा भएको कार्यक्रममा धरान-२० नंबर वडाका कृषक तथा संघ संस्थाको प्रतिनिधिहरुको सहभागीता रहेको थियो।