धरान, धरान उपमहानगरपालिकामा दुई वटा घरमा ताला फोडी चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रकाउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोक साबिक महाँकालचौर गाबिस–६ भञ्ज्याङ बस्ने ४१ वर्षिय सोनाम लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश जबेगुले बताएका छन्।

गत चैत महिनामा धरान-५ ठिँगाबारीको घरधनी पवित्रा मगरको घर फोडी नगद सहित सामानहरु सोनामले चोरी गरेेका हुन्।

जसमा नगद नेपाली सात हजार चाँदीको थाल, बोटुका, चम्चा २ सेट समेत १५ तोला, चाँदीको पाउजु ३ जोर २० तोला, चाँदीको ओठी थान-१ एक तोला, एकतोला चाँदीको सिक्का थान-१, चारआनी तौलको सुनको टप २ जोर, एकतोला तौलको सुनको औंठी थान १, चारआनी तौलको सुनको सिरबन्दी थान १ र पैसा जम्मा गरेर राखेको माटोको खुत्रुके थान १ लगायत घरमा अन्य थुप्रै सामानहरु समेत चोरी भएको हो।

चोरी सम्बन्धमा उच्चतम प्रविधी तथा विशेषज्ञको टोली खटाई घटनामा संलग्न व्यक्तिहरु मध्ये काभ्रेपलाञ्चोक बस्ने सोनाम लामालाई गत १४ गते काठमाण्डौको दरबारमार्ग एरियाबाट लुकिछिपी बसेको सूचनाको आधारमा प्रहरी बृत दरबारमार्ग काठमाण्डौ सँग समन्वय गरी पक्राउ गरि यस कार्यालयमा ल्याईएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख जबेगुले बताए।

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेको प्रतिवादीले धरानको दुईवटा घरमा चोरी गरी ४ लाख ४९ हजार ६ सय नगद रकम र २ तोला सुन १७ तोला चाँदी चोरी गरेको भन्ने खुलेको उनले बताए।

अनुसन्धानको क्रममा अपराध गर्ने तरिका सवारी साधनहरु भाडामा लिई विभिन्न ठाँउमा पुगी भिआइपी तरिकाले होटलमा बस्ने मानिस नभएको घरहरु रेक्की गरी घरको ढोका फोडी चोरी गर्ने गरेको बुझिएको बताए।  

पक्राउ प्रतिवादी सोनाम लामालाई चोरी कसूरमा सुनसरी जिल्ला अदालतबाट म्यादधप भई थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख जबेगुले बतााए।