विराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गर्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी, मोरङका प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई सम्मानित गरेको छ।
प्रहरी निरीक्षक चौहानले भद्रपुर नगरपालिका र झापा क्षेत्रमा सञ्चालन गरिएको चेकजाँच तथा विशेष अपरेशनमार्फत ४२० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गर्दै ४ जनालाई नियन्त्रणमा लिएका थिए। उनले अपराध नियन्त्रणका क्रममा ६ राउण्ड गोली फायर गर्नुपरेको घटनामा समेत सफल नेतृत्व गरेका थिए।
त्यस्तै, प्रहरी नायव निरीक्षक अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ मा ज्यान मारी फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको, साथै कर्तव्यज्यान मुद्दामा जन्मकैद सजाय पाएका र विभिन्न मुद्दामा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गर्ने महत्वपूर्ण सफलता हासिल गरेका थिए।
उनीहरूको साहस, प्रतिबद्धता र उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरी सम्मान तथा पुरस्कार प्रदान गरेको हो।