धरान, चार महिनादेखि कलेजो रोगबाट जीवनमरणको दोसाँधमा रहेका धरान ८ का रोशन राईको उपचारका लागि  धरान ३ निवासी इम्तियाज सिद्धिकी र नियाज सिद्धिकी दाजुभाइले १३ हजार सहयोग गरेका छन्। 

धरान ८ अरुणटोल सुकुम्बासी बस्तीका रोशन राईको निवासमै पुगेर टेलरिङ व्यवसायमा रहेका अगुवा इम्तियाज सिद्धिकीको तर्फबाट १० हजार र उनका सहोदर कान्छा भाइ नियाज सिद्धिकीले ३ हजार गरि जम्मा १३ हजार रुपैया बिरामीकी श्रीमति शान्ति तामाङलाई नगद हस्तान्तरण गरिएको हो। 

मजदुर नेता भीमज्वाला राईले रोगसंग लडिरहेका रोशन राईका बारेमा समाचार फेसबुकमा पोष्ट गरे पछि आफूहरुले सहयोग गर्ने इच्छा भीमज्वाला मार्फत राखेको कुरा धरानमा मुस्लिम युवाहरुका बिच अगुवा तथा सामाजिक काम गरिरहेका इम्तियाज सिद्धिकीले जानकारी दिएका छन्। उनले भने "भीम दाइले हामी धरानमा रहेर सिलाइ कटाई तथा टेलरिङ क्षेत्रमा काम गर्ने मुस्लिम युवाहरुलाई समेत संगठित गर्नु भएकाले वहाँको अभियानमा हामीले साथ दिएको दिएको हो। 

दाउरा बेचेर श्रीमति र एक छोरीको भरणपोषण गरिहेका ४० वर्षिय रोशन राई बैशाखदेखि जण्डिस र मृगौलामा पथरिया भएपछि घरमै ओछ्यान परेका छन्। राईलाई आइतबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा सञ्जीव शर्माले निवासमै चेकजाँच गर्नुभएको थियो। डा. शर्माले राईको पेटमा धेरै पानी जमिसकेकाले चारदिन पछि अस्पतालमै भर्ना गरेर पानी झिक्नुपर्ने सुझाएका छन्। 

राईको कलेजो फेर्नु पर्ने अवस्था रहेको र करिव १५ देखि २० लाख खर्च हुने चिकित्सकहरुको सल्लाह रहेको छ। तर, उनको परिवार त्यत्रो रकम खर्च गर्न सक्ने अवस्थामा छैनन। बिहानबेलुकी घर चलाउन समेत समस्या भइरहेको उनकी श्रीमति शान्ति तामाङले बताईन्। 

राईको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले पहल गरिरहनु भएका छन्। इच्छुकहरुले बिरामीको उपचारमा सहयोग गर्न चाहेमा बिरामीकी श्रीमति शान्ति तामाङको सम्पर्क नम्बर ९७०८२५५३११ मा समेत सम्पर्क गरेर सहयोग गर्न सकिने छ।