बिराटनगर, सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक  (आईजीपी)मा चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने भएको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख रहेका एआईजी खापुङलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तेह्रथुममा जन्मिएका खापुङले २०५२ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी भदौ १८ गतेदेखि ३२औं महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन्।

५५ वर्षीय खापुङले यसअघि प्रधानमन्त्रीको सुरक्षा प्रमुख, काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख, कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन प्रमुख जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। साथै, उनी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (हाइटी) मा दुई पटक सेवा गरेका अनुभवी प्रहरी अधिकारी हुन् ।

इटाली, कोरिया, भियतनाम र चीनबाट विभिन्न सुरक्षा तालिम प्राप्त गरेका खापुङ पेशागत दक्षता र अनुसन्धान क्षमतामा प्रखर मानिन्छन् ।