धरान, धरानमा जारी सुनसरी जिल्ला व्यापी अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता 'सुनाखरी एकेडेमी  कप'को सेमिफाइनलमा नेपाल पुलिस स्कुल र ज्वालामुखी स्कुल पुगेका छन्।

आज सम्पन्न क्वाटरफाइनल खेलहरूमा नेपाल पुलिस स्कुल र ज्वालामुखी स्कुलले प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन्।

पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले माउन्ट हर्मन स्कुललाई ६–१ को निर्णायक अन्तरले हरायो। खेलमा पुलिसका समीर राई चम्किए।

पहिलो हाफको १०औँ मिनेट, दोस्रो हाफको २०औँ र २३औँ मिनेटमा गरी उनले ह्याट्रिक पूरा गरे। साथै, उज्ज्वल थापा ले पहिलो हाफको १९औँ र दोस्रो हाफको १२औँ मिनेटमा दुई गोल जोडे। विकास मगर ले दोस्रो हाफको १७औँ मिनेटमा एक गोल थपे।

दोस्रो खेलमा ज्वालामुखी स्कुलले हिमशिखर स्कुललाई २–० ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो। ज्वालामुखीतर्फबाट सन्देश राई ले २६औँ मिनेटमा पहिलो गोल गरे भने पर्वत विक ले त्यसको एक मिनेटमै (२७औँ) दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए।

दुवै खेलका ‘म्यान अफ द म्याच’ क्रमशः समीर राई (नेपाल पुलिस) र हार्दिक राई (ज्वालामुखी) घोषित भए। उनीहरूलाई जनही १/१  हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्रदान गरिएको छ।