धरान, सुनाखरी एकेडेमी कप-२०८२ को आज सम्पन्न पहिलो सेमिफाइनलबाट सुनाखरी रेड फाइनलमा प्रवेश गरेको छ।
एन्फा एकेडेमीको खेल मैदान, धरान–१७ मा जारी उक्त सुनसरी जिल्ला व्यापी अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता 'सुनाखरी एकेडेमी कप' अन्तरगत आज भएको सेमिफाइनलमा सुनाखरी रेडले सैनिक आवासीय स्कुललाई उछिनेर फाइनल प्रवेश गरेको हो।
खेलको पहिलो हाफको २४औँ मिनेटमा सुनाखरी रेडका जर्सी नम्बर ९ आदेश पोद्दारले १ गोल गर्दै टिमलाई अग्रता दिलाए। सैनिक आवासीय स्कुलले बलियो प्रतिरोध र निरन्तर प्रयास गरे पनि पहिलो हाफमा बराबरी गोल फर्काउन सकेन।
दोस्रो हाफमा सुनाखरी रेड अझ आक्रामक बनेर उत्रियो। हाफको सुरुवाती ५ मिनेटमै जर्सी नम्बर १० श्रीहाङ लिम्बुले गोल गर्दै अग्रता २–० मा पुर्याए। त्यसपछि १९औँ मिनेटमा जर्सी नम्बर २६ प्रज्वल तामाङले अर्को १ गोल थपेपछि सुनाखरी रेड ३–० ले मजबुत स्थितिमा पुग्यो।
खेलको अन्तिमसम्म सैनिक आवासीय स्कुलले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गोल गर्न असफल रह्यो। सुनाखरी रेडका आदेश पोद्दार ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई स्कुलका संस्थापक किशोर सुब्बा ले नगद रु. १ हजार सहित ट्रफी प्रदान गरे।
सुनाखरी एकेडेमी, धरान–१२ द्वारा आयोजित ‘सुनाखरी एकेडेमी कप–२०८२’ पहिलो संस्करण प्रतियोगिता अन्तर्गत सोमबार हुने अर्को सेमिफाइनल खेल नेपाल पुलिस स्कुल र ज्वालामुखी माध्यमिक विद्यालय बीच हुने आयोजकले जनाएको छ।
आज सम्पन्न खेलको बिजेता सुनाखरी रेड र भोलि (सोमबार)का विजेता बीच बुधबार फाइनलमा रोमाञ्चक भिडन्त हुने आयोजकले जनाएको छ।



प्रतिक्रिया