धरान, भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने चाहाना' नारा सहित भेडेटारमा तीन दिने भेडेटार फुड फेस्टिवल सुरु भएको छ।
भेडेटारको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले १३औं संस्करणको फुड फेस्टिवल आजबाट सुरु भएको हो।
आयोजक होटक एशोसिएशन भेडेटारको अध्यक्ष तुमराज लिम्बुको सभापतित्वमा प्रमुख अतिथि रहेका कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कार्यक्रमको उदघाटन गरेका छन्।
उदघाटन समारोहमा सम्बोधन गर्ने क्रममा मन्त्री सदानन्द मण्डलले भेडेटारको पर्यटन बिकासमा प्रदेश सरकारको साथ सहयोग रहने बताए।
उद्घाटन समारोहमा भेडेटारको पर्यटन प्रवर्द्धनमा पत्रकारिताबाट सहयोग गर्ने दुई जना पत्रकार सम्मानित भएका छन्।
सम्मानित हुनेमा सुनसरीबाट गणतन्त्र एफएमका रोहितकुमार बस्नेत र धनकुटाबाट नारायण राई जनही नगद १० हजारसहित सम्मान पत्रद्वारा सम्मानित भएका छन्। उनीहरूलाई प्रमुख अतिथि मन्त्री सदानन्द मण्डलले सम्मान गरेका छन्।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई भेडेटारमा भित्राउने मुल लक्ष्यको साथ आयोजना गरिएको फेस्टिवलमा पर्यटकहरुको लागि स्थानिय, मौलिक खानाको परिकारको साथै मनोरञ्जनका लागि हरेक साँझ साँगितिक कार्यक्रमको आयोजना गरिएको सचिव लालबहादुर श्रेष्ठ(रमेश)ले जानकारी गराए।
जस अन्तरगत पहिलो दिन गायिका दिपा सुहाङ लिम्बूको गीत र गरिमा डान्स सेन्टर धरानको नृत्य प्रस्तुत भयो।
पुष १८ गते सम्म संचालन हुने फेस्टिवलको दोस्रो दिन चर्चित गायिका मेलिना राईको गीत, गरिमा डान्स सेन्टर धरानको नृत्य प्रस्तुति र तेस्रो दिन गरिमासँगै द प्याराडाईस व्याण्डको प्रस्तुति हुने सचिव श्रेष्ठले जानकारी दिए।
फेस्टिवलमा खानाका परिकारका स्टल सहित स्वदेशी उत्पादनका प्रदर्शनका २० वटा स्टल समेत राखिएको छ।





प्रतिक्रिया