धरान, धरानको १२५ औं स्थापना दिवस (धरान डे) विविध कार्यक्रमको साथ आज सम्पन्न भएको छ।
एक दिवसीय उक्त 'धरान डे' झाँकी, र्याली र धरानमा योगदान पुर्याएकाहरुलाई सम्मान गरि मनाईएको छ।
यस अवसरमा धरान उपमहानगरपालिकाले धरानमा सार्वजनिक बिदा समेत दिएको थियो। उक्त अवसरमा आदिवासी जनजाति समुदायको सांस्कृतिक झाँकी, विभिन्न विद्यालय, संघसंस्था तथा विद्यार्थीहरूको मार्चपासको र्यालीले नगर परिक्रमा गर्दै धरान १२ स्थीत पब्लिक हाई स्कुलको मैदानमा समापन समारोह आयोजना भएको छ।
धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क सम्पाङ)को सभातित्व तथा समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्य तथा कोशी प्रदेश सभा सदस्य द्वय विजय राई र रमेश बस्नेतको विशेष आतिथ्यमा आयोजित 'धरान डे' मा धरानमा योगदान पुर्याएका व्यक्तिहरू तथा करदातालाई सम्मान गरिएको छ।
जसमा गायकहरु कृष्णराजा श्रेष्ठ, मनोज मोते, अनिष राई, हिमाली फेवदिन लिम्बु, मेरिना राई, मनिका कट्टेल, संगीतकार विनायक राई, हेम सुब्बा, गीतकार टीका आत्रेय, राजिव हल्वाई, एम.के.वाङ्देललाई सम्मान गरिएको छ।
यसैगरी सबै भन्दा धेरै कर तिर्नेमा सुनसरी टेक्निकल कलेज, विष्णु मेमोरियल सेकेन्डरी स्कुल, प्रभु बैंक लिमिटेड, एनएमबि बैंकलाई सम्मान गरिएको छ।
विभिन्न साँगितिक कार्यक्रम, खेल मनोरन्जनको आयोजना गरि अघिल्ला वर्ष पाँच दिन सम्म मनाउदै आएको 'धरान डे' यसपाली भने एक दिन मात्र मनाईएको हो।
२१ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुनाका साथै गृह मन्त्रालयबाट पुस २१ गतेदेखि भेला तथा कार्यक्रम नगर्न निर्देशन प्राप्त भएकाले धरान डेलाई यस वर्ष सीमित कार्यक्रमका साथ एक दिन मात्र मनाउने उपमहानगरपालिकामा बुधबार बसेको बैठकले निर्णय गरेको थियो।



प्रतिक्रिया