धरान, आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ। 

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई संक्रान्ति भनिन्छ।

माघे संक्रान्तिसँगै दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ। धार्मिक मान्यताअनुसार आजका दिन नदी, कुण्ड तथा तीर्थस्थलमा स्नान गरी दान–पुण्य गर्नाले पाप नाश हुने र पुण्य प्राप्त हुने जनविश्वास छ। देवघाट, चोभार, कोशी तथा विभिन्न स्थानीय नदी किनारमा बिहानैदेखि भक्तजनको भीड देखिएको छ।

यस पर्वमा तिल, चाकु, घिउ, तरुल, सखरखण्ड, खिचडी लगायतका पोषिलो परिकार खाने परम्परा रहेको छ। जाडो मौसममा शरीरलाई ऊर्जावान् र स्वस्थ राख्न यी खानेकुरा उपयोगी मानिन्छन्।

माघे संक्रान्ति विशेष गरी थारु समुदायको प्रमुख पर्व ‘माघी’ का रूपमा पनि मनाइन्छ। 

यस दिन थारु समुदायले नयाँ वर्षको सुरुआत, सामूहिक भेला, नाचगान तथा सांस्कृतिक कार्यक्रम गरी पर्व मनाउने परम्परा छ।

किराँत समुदायले नयाँ वर्ष यलेदोङ(यलम्बर संवत् ५०८६), मगरलगायत अन्य समुदायमा पनि यस दिनको आ–आफ्नै सांस्कृतिक र धार्मिक महत्व रहेको छ।

माघे संक्रान्तिले समाजमा आपसी सद्भाव, स्वास्थ्यप्रति सचेतना र प्रकृतिसँगको सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिइन्छ।