धरान, कोशी प्रदेश स्तरीय खुल्ला शारिरीक सुगठन प्रतियोगिता ‘सातौ मिस्टर कोशी -२०८२’ चैत २७ र २८ मा हुने भएको छ।

एलाईनेट जिमको धरानको २३औं प्रस्तुतीको रुपमा आयोजना हुने उक्त प्रतियोगिता अन्तरगत चैत २७ गते अर्थात पहिलो दिन प्रिजजिङ राउन्ड र २८ गते फाइनल धरान ८ स्थीत सभागृहमा हुने आयोजक एलाईनेट जीमका अध्यक्ष बिक्रम लिम्बुले बताए। 

पहिलो प्रिजजिङ राउण्डमा एक वजन समुहबाट ६ जनामात्र खेलाडी छनौट गरिने र प्रत्येक वजन समुहबाट जम्मा पाँच वटा वजन समुह गरी जम्मा ३० जना खेलाडीहरुलाई मात्र फाईनल प्रतियोगितामा समावेश गरिने अध्यक्ष लिम्बुले आज धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। 

उनको अनुसार फाइनल प्रतियोगितामा प्रत्येक वजन समुहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराई प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौसम्म छनौट गरिनेछ।

ती वजन समुहका प्रथम विजयी खेलाडीलाई मात्र पुनः ओभरअल राउण्डमा समावेश गराइनेछ। ओभरअल राउन्डमा जम्मा ६ जना विजयी खेलाडी मात्र पुग्नेछन्। 

ती खेलाडीहरुलाई पुनः प्रतिष्पर्धा गराई प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौं विजयी छनौट गरिनेछ। ओभरअल राउन्डमा प्रथम हुने विजयी खेलाडीलाई सातौं मिस्टर कोशी प्रदेश २०८२ घोषित गरिनेछ।

यसैगरी दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई क्रमशः रनरअप घोषित गरिनेछ। यस्तै चौथो, पाँचौ र छैठौं हुने खेलाडीहरुलाई सान्त्वना घोषित गरिनेछ। 

आयोजक एलाइनेट जीमका कोषाध्यक्ष केशव श्रेष्ठका अनुसार प्रतियोगिताका प्रथमलाई उपाधी सहित ट्रफी, मेडल र प्रमाण–पत्र सहित नगद एक लाख पच्चीस हजार प्रदान गरिने छ। 

यस्तै दोस्रोले ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाँचौ २५ हजार र छैठौंले २० हजार नगद सहित ट्रफी, कप, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ। 

प्रतियोगिताका बेष्ट पोजर, मस्कुलर मेन मोस्ट इम्पु्रभ, वेष्ट टिमको उपाधी जित्ने खेलाडीलाई जनही नगद पाँच हजार सहित ट्रफी, मेडल, प्रमाण–पत्र प्रदान गरिनेछ। 

उक्त प्रतियोगितामा भाग लिनको लागि एउटा क्लबबाट एक वजन समुहमा जम्मा २ जना खेलाडीले र एक जना टिम मेनेजरले मात्र भाग लिन पाउने छ। 

जस अनुसार एउटा क्लबबाट ६ वटा वजन समुह गरी जम्मा १२ जना खेलाडी र एक जना टिम मेनेजरले भाग लिन पाउने छन्।