धरान, उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले विद्युतको लोडसेडिङ अन्त्य गरेझैँ अब देशभर फैलिएको रोजगारी, गरिबी, सुशासन र भ्रष्टाचारको ‘लोडसेडिङ’ हटाउने अभियानसहित आफ्नो पार्टी अघि बढेको बताएका छन्।
चुनावी प्रचारका क्रममा आज धरान आइपुगेका घिसिङले भानुचोकमा आयोजित कोणसभामा बोल्दै आफू नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा रहँदा अन्धकारमा डुबेको देशलाई उज्यालो बनाएको बताए।
“लोडसेडिङ एउटा अन्त्य गरेर आयौँ, तर देशभित्र अझै धेरै किसिमका लोडसेडिङ छन्,” उनले भने, “रोजगारीको, गरिबीको, सुशासन र भ्रष्टाचारको लोडसेडिङ हटाएर उज्यालो नेपाल बनाउने हाम्रो लक्ष्य हो।”
प्राधिकरण नेतृत्वको अनुभव सुनाउँदै घिसिङले गाउँ–गाउँमा बिजुली पुर्याएको, घाटामा रहेको संस्थालाई नाफामा ल्याएको तथा नेपाली जलविद्युत भारत र बंगलादेशसम्म निर्यात गर्न सफल भएको दाबी गरे। ऊर्जा क्षेत्रमा भएको यो रूपान्तरण अब समग्र देशमा लागू गर्ने उनको भनाइ थियो।
देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि उज्यालो नेपाल पार्टी दर्ता गरिएको उल्लेख गर्दै उनले काम गरेर परिणाम देखाइसकेको पार्टी भएकाले जनताको समर्थन आवश्यक रहेको बताए।
भ्रष्टाचारमुक्त समाज निर्माण, रोजगारी सिर्जना, युवालाई स्वदेशमै अवसर र देशलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गर्दै घिसिङले धरानका स्थानीय समस्या समाधानका लागि सुनसरी क्षेत्र नंबर १ बाट प्रतिनिधिसभा उम्मेदवार डम्बर लावती (जेन्टल) लाई विजयी गराउन आग्रह गरे।
जलाधार, सहकारी, तमोर सुरुङ मार्ग तथा विद्युत लाइन स्थानान्तरणजस्ता विषय समाधान गर्न आफूहरू तयार रहेको बताउँदै उनले भने, “अरूले भाषण गर्छन्, हामी परिणाम देखाउँछौँ।”
अन्त्यमा उनले मत मात्र होइन, पार्टी नै परिवर्तन गर्ने समय आएको उल्लेख गर्दै पुराना दलबाट समृद्धि सम्भव नभएको दाबी गरे।



प्रतिक्रिया