धरान, धरान फुटबल क्लबले आयोजना गरेको २६औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता-२०८२ को विजेता प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौं बनेको छ।

धरान १६ स्थीत रंगशालामा गत माघ २२ गतेबाट जारी प्रतियोगिताको आज सम्पन्न फाइनल प्रतियोगितामा प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौंले १-० अन्तरले चर्च ब्वाइज युनाइटेड क्लब ललितपुरलाई पराजित गर्दै विजेता बनेको हो। 

बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागीता जनाएको प्लानिङ ब्वाइज विजेता बन्दै उपाधिसहित ट्रफी, मेडल, नगद १० लाख प्राप्त गर्न सफल बन्यो।  यस्तै प्रतियोगिताको उप(विजेता टिमले ट्रफी, मेडल, नगद ५ लाख प्राप्त गरेको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका प्रतापसिङ राई घोषित भएका छन्। उनले होण्डा कम्पनीको डियो स्कुटर प्राप्त गरेका छन्।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको दोस्रो हाफको १७औँ मिनेटमा जर्सी नम्बर ७ का प्रताप सिंह राईले गरेक गोल नै प्लानिङ्ग ब्वाइजका लागि विजयी बनाउन सफल बनायो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङका प्रताप सिंह राई घोषित भए ।उनलाई होण्डाको डियो स्कुटर पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा हाई स्कोर प्लानिङका प्रताप सिंह राई, झापा ११ का खेलाडीद्वय राजेश दाहाल,एरोन थापामगर घोषित भए। उनीहरूले समान २-२ गोल गरेका थिए। उनीहरूले नगद ३५ हजार पुरस्कारबाट दामसाही रुपमा १२-१२ हजार प्राप्त गरे।

त्यस्तै वेष्ट गोल किपर प्लानिङका योगेश धिमाल,वेस्ट डिफेन्डर प्लानिङका निनुङमा घिसिङ, वेस्ट मीड फिल्डर चर्च ब्याईजका रोहन कार्की, वेस्ट स्ट्राइकर चर्च ब्याईजका अव्यमी फकिनले,वेस्ट कोच प्लानिङका सञ्जीत सिंह, हाईस्कोरर प्रताप सिंह राई घोषित भए। उनीहरुले जनही नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ।

आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङको सभापतित्व, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कपुरी न्युज डटकमकी पत्रकार रश्मी प्रधानलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।  

प्रतियोगिता अवधिभर उत्कृष्ट समाचार लेखन मार्फत प्रतियोगितामा योगदान दिएकोमा पत्रकार प्रधानलाई नगद ११ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो।

गत माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेड क्लब ललितपुरसहित १० टिमले सहभागिता जनाएको थियो।

जसमा आयोजक धरान फुटबल क्लब सहित नेपाल पुलिस क्लब, झापा ११, पोखराको लालीगुराँस एशोसिएशन, सातदोबाटो युथग क्लब, जर्जियन क्लब भारत, रोयल थिम्पु भुटान एनआरटि रहेका थिए।