धरान, काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा ले सुनसरी क्षेत्र नं. १ मा पार्टीको जित सुनिश्चित हुने दाबी गरेका छन्।

आज धरानको भानुचौकमा आयोजित नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै काँग्रेस उपसभापति शर्माले ठूला पूर्वाधार आयोजना दिनरात सञ्चालन गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय गौरवका आयोजना, सडक, जलविद्युत् तथा खानेपानीजस्ता परियोजना २४ घण्टा सञ्चालन गर्न सके निर्माण कार्य तीव्र गतिमा अघि बढ्ने र रोजगारीका अवसरसमेत विस्तार हुने उनले बताए।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै काँग्रेसले नयाँ पुस्तालाई अवसर दिएको उल्लेख गर्दै उनले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ जना नयाँ अनुहारलाई उम्मेदवार बनाइएको जानकारी दिए। महिला र दलित समुदायको प्रतिनिधित्व उल्लेख्य रूपमा वृद्धि गरिएको दाबी पनि उनले गरे।

उम्मेदवार सुजेन्द्र तामाङलाई फौजी परिवारको छोरा भएको र हङकङ तथा बेलायतजस्ता मुलुकमा जाने अवसर हुँदाहुँदै पनि स्वदेशमै बसेर सेवा गर्न चाहने व्यक्तिका रूपमा प्रस्तुत गर्दै शर्माले मतदातालाई “रुख” चिन्हमा मतदान गर्न आग्रह गरे।