धरान, गोर्खा सिमेट्री ट्रस्ट नेपालद्वारा धरानमा आयोजित चौथो संस्करणको ‘गोर्खा ट्रेल ब्लेजर’ प्रतियोगिताको विजेता उमेश थापा र प्रिया तामाङ बनेका छन्।
प्रतियोगितामा पुरुषतर्फ धरानका उमेश थापा र महिलातर्फ दार्जिलिङकी प्रिया तामाङ बिजेता बनेका हुन्।
निर्धारित ९ किलो मिटर दूरीको उक्त प्रतियोगितामा पुरुष तर्फको बिजेता उमेशले २५ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै २० हजार रुपैयाँ नगद पुरस्कार, मेडल प्राप्त गरे।
यसैगरी १४औँ धरान रनकी तेस्रो विजेता समेत बनिसकेकी महिलातर्फकी विजेता प्रियाले ३० मिनेट ४६ सेकेन्डमा पार गर्दै २० हजार रुपैयाँ नगद पुरस्कार, मेडल प्राप्त गरेकी छन्।
प्रतियोगितामा पुरुषतर्फ विकास भुजेल २५ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गरी दोस्रो भए भने २५ मिनेट ५४ सेकेन्डमा दूरी पार गरेका अमिर लिम्बु तेस्रो बने। उनीहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरे।
त्यसैगरी, महिलातर्फ गत वर्षकी विजेता पुष्पा सेर्मा लिम्बु ३० मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन्। दीप बस्नेतले ३० मिनेट ५५ सेकेन्डमा दूरी पूरा गरी तेस्रो स्थान हासिल गरिन्। उनीहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरे।
प्रतियोगितामा भेट्रान विधा अन्तरगत पुरुषतर्फ रेशम लिम्बुले ३० मिनेट १३ सेकेन्डमा दुरी पूरा गरि प्रथम, विजयकुमार राई दोस्रो र बिमान राई तेस्रो भए।
यसैगरी महिला भेट्रानतर्फ जमुना लिम्बु ४२ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गरि प्रथम, कुसुम लिम्बु दोस्रो र असुली राई तेस्रो बने। भेट्रानतर्फका विजेताहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
विजेताहरुलाई कार्यक्रमका सभापति महेन्द्रकुमार राई र २० नम्बर वडाका अध्यक्ष पदमबहादुर राईले विजेताहरूलाई पुरस्कार वितरण गरे।
५ अप्रिल पुर्खा दिवसको अवसर पारेरमा शनिबार आयोजित उक्त प्रतियोगिता धरान-१८ स्थित रत्नचोकबाट दौड सुरु भएर मङ्गलवारे, सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित भन्ज्याङमा पुगेर समापन भएको हो।
उक्त प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा र १८ नम्बर वडाका अध्यक्ष नरेन्द्रकुमार राई ‘प्रवीण’ले गरेका हुन्।
आयोजकका अनुसार प्रतियोगितामा सुनसरी, मोरङ, झापा, उदयपुर, भोजपुर र धनकुटा लगायतका जिल्लाहरूबाट ६ सयभन्दा बढी धावक-धाविकाहरूको सहभागिता रहेको छ।



प्रतिक्रिया