धरान, धरान-३ स्थीत सरस्वती बाल आश्रममा अध्यक्ष रुक्मनि मास्केद्वारा २ लाख २ हजार २ सय २२ रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेकी छन्।

आश्रममा लायन्स क्लबका गभर्नर बर्बर जंग थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा लायन्सकर्मी समेत रहेकी आश्रमकी अध्यक्ष मास्केले आफूले विगतदेखि नै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जानकारी गराउँदै आज लाख २ हजार २ सय २२ रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेकी हुन्।

लायन्स क्लबका सदस्यहरूले जन्मदिन, वार्षिकोत्सव जस्ता अवसरमा आश्रममा आएर भोजन गराउने परम्परा रहेको उल्लेख गर्दै उनले भोजनसँगै दीर्घकालीन आर्थिक सहयोग अझ आवश्यक रहेको धारणा राखिन्। 

वर्तमान समयमा बालबालिकाको शिक्षा नै उनीहरूको भविष्यको आधार भएकाले यस क्षेत्रमा गरिएको सहयोगले अनाथ तथा अभिभावकविहीन बालबालिकाको जीवन उज्ज्वल बनाउन मद्दत पुग्ने अध्यक्ष मास्केले बताइन्। 

शिक्षा जस्ता दीर्घकालीन आवश्यकता पूरा गर्न आर्थिक स्थायित्वको अभाव भएकाले अक्षयकोष स्थापना गरिएको अध्यक्ष मास्केले बताईन्।

उक्त कार्यक्रममा प्रमुख अतिथि थापाले लायन्स क्लब सधैं समस्यामा परेकाहरूको साथमा रहने संस्था भएको बताउँदै क्लबले विशेष गरी बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।

उनले हरेक वर्ष लायन्स क्लबका अध्यक्षहरूले कम्तीमा एक जना बालबालिकाको शैक्षिक जिम्मेवारी लिन सके समाजमा ठूलो परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गर्दै अक्षयकोषमा सहयोग गर्न सबैलाई आग्रह गरे।

नेपालभर सक्रिय संस्थामध्ये एक लायन्स क्लबले शिक्षालाई प्राथमिकतामा राख्दै कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको पनि उनले बताए।

कार्यक्रममा लायन्स क्लबका नितु शाह, एकता श्रेष्ठ, धिरज गुरुङ, सरस्वती बाल आश्रमका सल्लाहकार सरल कायस्थ, नैनकला न्यौपाने लगायतको उपस्थिति रहेको थियो।