धरान, धरानमा मंगलबार दुई फरक घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ।
धरान-८ स्थित चारकोशे जंगल क्षेत्रको फोहोरमैला डम्पिङ साइटको पश्चिमतर्फ एक पुरुषको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबु राईका अनुसार विराटनगर निवासी ५५ वर्षीय दधिराम घिमिरे प्लास्टिकको नायलन डोरीले पासो लगाई रुखमा झुण्डिएको अवस्थामा मंगलबार दिउँसो करिब १ बजे फेला परेका हुन्।
धरान खानेपानी बोर्डका कर्मचारीले काम गर्ने क्रममा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनास्थलबाट शव उठाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ। शवको पोस्टमार्टमपछि घटनाबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
यसैबीच, धरान-९ बगैचा लाइनमा १३ वर्षीया एक बालिकाले आत्महत्या प्रयास गरेको घटना पनि सार्वजनिक भएको छ।
परिवारका अनुसार मोबाइलमा गेम खेल्न नपाएको रिसमा ती बालिकाले घरको ढोका भित्रबाट लक गरी केही समयपछि झ्यालमा सलको पासो लगाएकी थिइन्।
आमा घर फर्किएपछि बालिकालाई कुर्सीमा चढेर झ्यालमा पासो लगाएको अवस्थामा फेला पारिएको थियो। तत्काल उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया