धरान, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ।

आज चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने एसइईमा परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी रहेका छन्। 

बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार परीक्षामा दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र सहभागी हुँदै छन्। परीक्षाका लागि एक हजार ९६६ केन्द्र तोकिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।

परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक हुने भएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले तयारी गरिरहेको छ। यसअघि परीक्षा सकिएको सामान्यतया तीन महिनाभित्र नतिजा प्रकाशन हुँदै आएको थियो।

गत वर्ष चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसइईको नतिजा तीन महिनापछि अर्थात् असार १३ गते सार्वजनिक भएको थियो। त्यतिबेला पनि एसइई सकिनेबित्तिकै शिक्षक आन्दोलनका कारण एक महिनापछि मात्रै उत्तरपुस्तिका परीक्षण सुरु भएको थियो।

त्यतिबेला पनि तीन महिनामै नतिजा सार्वजनिक भएको देखिए पनि नतिजा प्रकाशनसँग सम्बन्धित काम भने दुई महिना मात्रै भएको थियो। 

यस पटक भने एक महिनाभित्रै नतिजा सार्वजनिक गरिने बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले बताए।

उनका अनुसार एक महिनाभित्र नतिजा प्रकाशनका लागि परीक्षा सञ्चालन भएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिने छ। 

भौगोलिक विकटता र अन्य प्राविधिक जटिलता हुने ठाउँको उत्तरपुस्तिका भने अन्य केन्द्र वा वैकल्पिक ठाउँमा लगेर परीक्षण गरिने छ। 

यसका लागि थप कार्यविधि निर्माणको लागि मन्त्रालयमा छलफल भइरहेको छ। 

उनले बने, “कार्यविधि बनिरहेको छ। छिट्टै पारित भएर कार्यान्वयनमा पनि जाला। तर एक महिनामै नतिजा प्रकाशन गर्न मन्त्रालयबाट निर्देशन भइसक्यो। हामी त्यसैको तयारीमा जुटिसक्यौँ।”