विराटनगर, लागू औषध सहित विभिन्न स्थानहरुबाट ३ जनालाई प्रहरीले पक्राउ गरिएको छ। 

मोरङ जिल्लाबाट दुई र झापाबाट एक जनालाई लागू औषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६ का अजय कुमार राय र ग्रामथान गाउँपालिका-६ का निरञ्जन माझीलाई २ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ।

मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी झापाको बिर्तामोड नगरपालिका-२ का भवानी प्रसाईलाई १ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००२ ह ८६३१ नम्बरको अटोलाई चेकजाँच गर्दा चालक रहेका प्रसाईलाई गौरादह नगरपालिका-१ बाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले आज जानकारी गराएको छ।