धरान, युनाइटेड गोर्खा एकेडेमी धरान-१५ ले आफ्नो १२औँ अभिभावक दिवस तथा वार्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ।
आज आइतबार भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक नृत्यहरु प्रस्तुत गरे। यसैगरी कार्यक्रममा शैक्षिक सत्र २०८२ अन्तर्गत नर्सरीदेखि कक्षा ९ सम्मका परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको थियो।
कक्षा ८ परीक्षा जिल्ला स्तरिय भएकाले आधिकारिक नतिजा आएपछि मात्रै नतिजा प्रकासन गर्ने स्कुलका प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी गराए।
परीक्षामा उत्कृष्ट नतिजा ल्याई पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने ३० विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। साथै, वर्षभरि खेलकुद तथा नृत्यमा उत्कृष्ट प्रदर्शन गर्ने करिव १६ जना विद्यार्थीहरूलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो।
उक्त विद्यालय संचालक श्यामकुमार राईको सभापतितत्व, धरान उपमहानगरपालिका वडा नं-१५ का वडा अध्यक्ष नरेशकुमार ईवारमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रिन्सिपल पेम्बा शेर्पाले स्वागत मन्तव्य राख्दै विद्यालयको भावी योजना तथा शैक्षिक सुधारका विषयमा बताए।
यस्तै अभिभावकको तर्फबाट स्नेहा श्रेष्ठले विद्यालयको गतिविधि तथा अनुशासनमा अझ सुधार आवश्यक रहेको औंल्याउँदै पढाइसँगै व्यवहारिक शिक्षामा जोड दिनुपर्ने सुझाव दिइन्।
उनले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सक्ने खालका शैक्षिक गतिविधि सञ्चालन गर्न पनि आग्रह गरिन्।
कार्यक्रमका प्रमुख अतिथि नरेश कुमार इङ्वारले धरान-१५ मा सरकारी र निजी गरि जम्मा १९ विद्यालय रहेको जानकारी दिँदै विद्यालयका गतिविधिहरू शिक्षा महाशाखाले निगरानी गरिरहेको बताए। जसमा युनाइटेड गोर्खा ऐकेडेमीले राम्रो गर्दै आएको र अभिभावकबाट प्राप्त सुझावलाई सकारात्मक रूपमा ग्रहण गरी आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन आग्रह गरे।
उनले सरकारद्वारा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णयले वर्षमा ५२ दिन अतिरिक्त बिदा हुने भएकाले त्यस अवधिमा अभिभावकहरूले आफ्ना बालबालिकालाई घरमै अध्ययनमा समय दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। विद्यालयको भरमा मात्र नबसी अभिभावकले पनि बालबालिकाको पढाइमा सक्रिय भूमिका खेल्नुपर्ने उनले सुझाए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू आशा राई, प्रेमकुमारी श्रेष्ठलगायतको आतिथ्य तथा शिक्षक, अभिभावकहरुको उपस्थिति रहेको थियो।




प्रतिक्रिया