धरान, विश्व हर्मोन डेको अवसरमा 'पहिलो इन्टरनल नेपाल वर्ल्ड हर्मोन डे मास्टर क्लास २०२६' सम्पन्न भएको छ। 

डाइबिटिज च्याप्टर नेपालद्वारा आज इटहरी स्थीत सोल्टी होटलमा आयोजित उक्त एकदिने कार्यशालामा कोशी प्रदेश भरिका करिब ३०० भन्दा बढी डाक्टर तथा नर्सहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन बी.पी.कोइराला स्वास्थ विज्ञान  प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख तथा हार्मोन विशेषज्ञ प्रा. डा. रविन मास्केले गरे।

 कार्यक्रममा नोबेल मेडिकल कलेज, बिराट टिचिङ हस्पिटल र कोशी अस्पताललगायतका प्रतिष्ठित स्वास्थ्य संस्थाका विशेषज्ञ डाक्टरहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम दुई प्रमुख शैक्षिक सत्रमा विभाजित गरिएको थियो। पहिलो सत्रमा ब्याचलर तहका विद्यार्थीहरूका लागि इन्डोक्राइनोलोजी सम्बन्धी हाजिरजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो। जसको क्विज मास्टर प्रा. डा. रविन मास्के रहेका थिए। 

दोस्रो सत्रमा एमबीबीएस तहका डाक्टरहरूबीच प्रतिस्पर्धात्मक क्विज कार्यक्रम सञ्चालन गरिएको थियो, जसलाई बीपी प्रतिष्ठानका एसोसिएट प्रोफेसर डा. अविनाश राईले सहजीकरण गरे।।

उक्त प्रतियोगितामा विभिन्न मेडिकल कलेजहरूका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। एमबीबीएस तहमा नोबेल मेडिकल कलेज प्रथम भयो भने ब्याचलर तहमा .पी.कोइराला स्वास्थ विज्ञान  प्रतिष्ठानका प्रथम स्थान हासिल गर्न सफल भयो। विजेताहरूलाई प्रमाण-पत्र सहित नगद २० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा डाइबिटिज र हार्मोन सम्बन्धी विभिन्न विषयमा प्रा. डा. रविन मास्के तथा डा. ओमप्रकाश शाहले प्रशिक्षण गरे। प्रशिक्षणमा विशेषगरी इन्सुलिन प्रयोग, मात्रा निर्धारण, तथा बिरामीलाई सही तरिकाले परामर्श दिने विधिबारे विस्तृत जानकारी दिइएको थियो। 

ग्रामीण क्षेत्रमा रहेका बिरामीहरूमा इन्सुलिन प्रयोग सम्बन्धी ज्ञानको अभाव भएकाले स्वास्थ्यकर्मीहरूले सचेतना बढाउनु पर्नेमा जोड दिइयो।

विशेषज्ञहरूले हार्मोन सन्तुलन मानव स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै असन्तुलनका कारण डाइबिटिज जस्ता जटिल रोगहरू बढ्दै गएको उल्लेख गरे। 

नेपालमा करिब ८ प्रतिशतभन्दा बढी जनसंख्या डायबेटिजबाट प्रभावित रहेको तथ्यांक प्रस्तुत गर्दै २५ वर्षमाथिका व्यक्तिहरूले नियमित स्क्रिनिङ गराउनु पर्नेमा जोड दिइयो। साथै नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा तथा तौल नियन्त्रणले यस्ता रोगहरूबाट बच्न सकिने सुझाव दिइएको थियो।

कार्यक्रममा विभिन्न औषधि तथा इन्सुलिन उत्पादन कम्पनीहरूले प्रायोजन गरेका थिए, जसमा क्वेस्ट फर्माक्युटिकल्स प्रा.लि.लगायत अन्य कम्पनीहरू रहेका थिए।

आयोजकका अनुसार आगामी वर्षहरूमा पनि यस कार्यक्रमलाई अझ व्यापक बनाउँदै विभिन्न स्वास्थ्य क्षेत्रका जनशक्तिलाई समेटेर मनाउने योजना रहेको छ। साथै डाइबिटिज च्याप्टर नेपाल धरान च्याप्टरले सदस्यता विस्तार गर्दै डाक्टर, नर्स तथा सर्वसाधारणलाई समेत सहभागी गराउने लक्ष्य लिएको जानकारी दिइएको छ।

बीपी प्रतिष्ठानका बच्चा विभागका डक्टर अरुण सिंह, सर्जरी विभागका डाक्टर शारदा खड्का, सिनियर नर्स कला थापा र विराट मेडिकल कलेजका डाक्टर प्रेरणा दाहाल, बिएमसी मेडिकल कलेज, विराट मेडिकल कलेजका राकेश मण्डल कोशी हस्पिटलका डाक्टर उत्तर मैनाली, डक्टर करण पोख्रेल तथा हर्मोन सम्बन्धी काम गर्ने विशेषज्ञ डाक्टरलाई सम्मान गर्दै प्रमाण-पत्र वितरण गरेको थियो।

यसैगरी कार्यक्रममा विभिन्न प्रतिष्ठित चिकित्सकहरूको उपस्थिति रहेको थियो, जसले यसलाई थप प्रभावकारी र ज्ञानमूलक बनाएको सहभागीहरूले बताएका छन्।