धरान, नेपाल पत्रकार महासंघ कोशी प्रदेशले पत्रकार महिलाहरूका लागि पाँच दिने तथ्य जाँच (फ्याक्ट चेकिङ) तालिम आयोजना गरेको छ।

सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहकार्यमा तालिम लालिगुराँस नगरपालिकाको बसन्तपुरस्थित सभाहलमा तालिम आयोजना भएको हो।

तालिममा कोशी प्रदेशका तेह्रथुम, ताप्लेजुङ, इलाम, सुनसरी, मोरङ लगायत जिल्लाका करिब २१ जना महिला पत्रकारहरूको सहभागिता रहेको छ।

उक्त तालिमको उद्घाटन आयोजक नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीको सभापतित्वमा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले शुक्रबार गरेका छन्।

उदघाटन कार्यक्रममा पछिल्लो समय बढ्दो डिसइन्फर्मेसन (भ्रामक सूचना) र मिसइन्फर्मेसन (गलत सूचना) का कारण समाजमा देखिएका विकृति तथा त्यसले पार्ने प्रभावबारे चर्चा गरिएको थियो।

पहिलो दिनको तालिममा सहभागीहरुलाई प्रशिक्षणपछि गलत र भ्रमक सूचनाले समाजमा पार्ने असर र त्यसका गतिविधि त्यसैगरी व्यक्तिगत, सामाजिक र राजनीतिक रुपमा कस्तो असर पार्छ भन्ने विषयमा प्रशिक्षणमा आफूले सिकेका कुराहरू लेख्नलाई अभ्यास समेत गराएको छ।

तालिममा प्रशिक्षक उज्ज्वल आचार्य र भोजराज श्रेष्ठ ले सत्यतथ्य समाचार कसरी सम्प्रेषण गर्ने, समाचारले समाजमा पार्ने प्रभाव, तथा गलत सूचनाबाट उत्पन्न हुने भ्रम र सामाजिक आक्रोश न्यूनीकरणका उपायबारे सहजीकरण गरेका छन्।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पछिल्लो समय गलत सूचनाको प्रभाव बढ्दै गएकाले महिला पत्रकारहरूलाई तथ्य जाँचसम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए।