तेह्रथुम, जिल्ला समन्वय समिति महासंघ नेपालको दुई दिने कार्यक्रम सुरु भएको छ।

कोशी प्रदेश सरकारको समन्वय तथा जिल्ला समन्वय समिति तेह्रथुमको व्यवस्थापनमा लालीगुराँस नगरपालिकामा सुरु भएको हो।

कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला समन्वय समिति प्रमुखहरूका साथै मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका जिल्ला समन्वय समिति अध्यक्षहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले पर्यटन क्षेत्र नेपालको आर्थिक उन्नतिको महत्वपूर्ण आधार बन्न सक्ने बताएका छन्। 

उनले प्रदेश तथा जिल्लाभर रहेका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन, विकास र यातायात पहुँच विस्तार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र त्यसबाट देशको आर्थिक अवस्था मजबुत बन्ने धारणा व्यक्त गरे।

मन्त्री लिङथेपले कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरूको विकासका लागि योजना बनाइए पनि सीमित बजेटका कारण कतिपय योजना कार्यान्वयन हुन नसकेको बताए। 

उनले सडक निर्माण, यातायात व्यवस्थापन तथा पर्यटकीय पूर्वाधार विकासका लागि आफूले बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाउँदै अन्तिम निर्णय भने प्रदेश सरकारकै नेतृत्वबाट हुने स्पष्ट पारे।

उनले ताप्लेजुङ, इलाम र तेह्रथुमको लालीगुराँस क्षेत्रलाई विशेष पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रूपमा उल्लेख गर्दै तेह्रथुमलाई “गुराँसको राजधानी” भनेर चिनिने बताए। 

उनका अनुसार हालसम्म लालीगुराँस क्षेत्रमा २८ प्रजातिका गुराँस फेला परिसकेका छन् भने थप केही प्रजाति अनुसन्धानको क्रममा रहेका छन्। अनुसन्धान सम्पन्न भएपछि गुराँसको संख्या ३२ प्रजातिसम्म पुग्ने अपेक्षा गरिएको छ।

मन्त्री लिङथेपले गुराँस फुलेको मौसममा दृश्यावलोकन तथा मनोरञ्जनका लागि मासिक २ हजारदेखि २ हजार ५ सयसम्म पर्यटक आउने गरेको जानकारी दिँदै यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताए।

उनले विशेषगरी तराईका गर्मी क्षेत्रबाट चिसो मौसमको आनन्द लिन आउने पर्यटकका लागि लालीगुराँस उपयुक्त गन्तव्य भएको उल्लेख गरे।

त्यसैगरी लालीगुराँस नगरपालिका–१ का नगरप्रमुख धनबहादुर खड्काले तेह्रथुमलाई पर्यटकीय जिल्लाका रूपमा विकास गर्न आवश्यक पूर्वाधार र यातायात सुविधा विस्तार गर्नुपर्ने बताए। 

उनले गुराँसको राजधानीका रूपमा परिचित यस क्षेत्रको व्यवस्थित प्रचारप्रसार र संरक्षण गर्न सके पर्यटनबाट राम्रो आम्दानी लिन सकिने धारणा राखे।

कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री निर्मल दाहालले पर्यटन क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके देशभित्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। 

उनले पूर्वदेखि पश्चिमसम्म रहेका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सके नेपालमा पर्यटक आगमन उल्लेख्य रूपमा बढ्ने विश्वास व्यक्त गरे।

उनले पर्यटन क्षेत्रमा राज्यले लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउँदै पर्यटन प्रवर्द्धनबाट रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार हुने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घ नेपालका अध्यक्ष राजन मेहेता, अतिथि अशोककुमार घिमिरे, नेपाल पत्रकार महा संघ कोशी प्रदेश अध्यक्ष भरत खड्कालगायत विभिन्न प्रदेशका जिल्ला समन्वय समिति अध्यक्षहरूको उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रममा पत्रकार महा संघ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष तथा प्रतिनिधि, उद्योग व्यवसाय सङ्घ, होटल व्यवसाय सङ्घ, गुफा समाज, महिला सञ्जाल तथा अन्य सामाजिक संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन जनप्रतिनिधिहरूबीच डोरी तान्ने प्रतियोगिता आयोजना गरिएको थियो भने हल्का सवारी चालकहरूबीच १०० मिटर दौड प्रतियोगिता सञ्चालन गरिएको थियो। समन्वय समितिका कर्मचारीहरूका लागि भाग्यशाली गोलाप्रथामार्फत खेल कार्यक्रमसमेत आयोजना गरिएको थियो।

१०० मिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार ५ सय तथा सान्त्वना पुरस्कारस्वरूप १ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी डोरी तान्ने प्रतियोगितामा प्रथम पुरस्कार ५ हजार, दोस्रो ४ हजार, तेस्रो ३ हजार र सान्त्वना पुरस्कार २ हजार रुपैयाँ प्रदान गरिएको थियो।

दुईदिने उक्त कार्यक्रम वैशाख २९ गते समापन हुने आयोजक समितिले जनाएको छ।