धरान, नेपालभर वैशाख १८ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र 'लालीबजार' ले यतिबेला पूर्वी नेपालका विभिन्न हलहरूमा उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। 

धरानस्थित फ्रेन्डस् सिनेमाजमा दर्शकहरूको बाक्लो उपस्थिति देखिएको छ भने फिल्मप्रति दर्शकको सकारात्मक प्रतिक्रिया निरन्तर आइरहेको छ। 

चलचित्र हेर्न आउने दर्शकहरूको संख्या बढ्दै जाँदा कलाकार तथा निर्माण टिमसमेत उत्साहित देखिएको छ।

चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का स्वयं फ्रेन्डस् सिनेमाजमा पुगेर दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिएकी थिइन्। 

दर्शकहरूले चलचित्र सामाजिक सञ्जालमा देखिएजस्तो विवादित नभएको र पारिवारिक तथा सन्देशमूलक रहेको बताएका छन्।

चलचित्र हेर्न आएकी दर्शक सुमी देवानले सामाजिक सञ्जालमा बनेका विभिन्न कन्टेन्ट र विवाद भन्दा चलचित्रको वास्तविक कथा निकै फरक रहेको प्रतिक्रिया दिएकी छन्। उनका अनुसार चलचित्रको प्रमुख कथावस्तु बादी समाजको कथावस्तुलाई चलचित्रमा उतारेको छ।

वादी समाजलाई समाजले दृष्टिकोण र समाजले गर्ने मतभेद कथामा उतारिएको छ भने चलचित्रमा अन्तर्जातीय विवाहले गराउने समस्या र समाजले हेर्ने दृष्टिकोणले समेत समेटेको छ। 

समाजका वास्तविक समस्या र ग्रामीण जीवनको पीडालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। निर्देशक यम थापा को निर्देशनमा बनेको ‘लालीबजार’ले ग्रामीण परिवेश, गरिबी, शिक्षा, स्वास्थ्य तथा आर्थिक असमानताजस्ता विषयलाई मुख्य कथावस्तु बनाएको छ।

चलचित्रमा गरिब तथा पिछडिएका समुदायमाथि हुने शोषण, वादी परिवारका समस्या, शिक्षा प्राप्तिमा हुने विभेद तथा गाउँघरमा व्याप्त सामाजिक सोचलाई मार्मिक ढंगले चित्रण गरिएको छ।

चलचित्रको छायांकन सुमन प्रजापतिले गरेका हुन् भने सम्पादन मित्रदेव गुरुङले गरेका छन्। चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन्। दर्शकहरूका अनुसार ‘लालीबजार’ केवल मनोरञ्जनमा सीमित नभई समाजको यथार्थ बोल्ने सशक्त चलचित्र बनेको छ।

ग्रामीण क्षेत्रका जनजीवन, पछाडि परेको समाज, शिक्षा र स्वास्थ्यका चुनौती तथा आर्थिक अवस्थाको वास्तविक चित्रणले दर्शकलाई भावुक बनाएको प्रतिक्रिया प्राप्त भइरहेको छ।