धरान, धरानबाट प्रकाशित दिव्य रोशनी साप्ताहिकले २२औं स्थापना दिवस सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरि मनाएको छ।  

मनिता चाम्लिङ राईद्वारा सम्पादित तथा प्रकाशित दिव्य रोशनी साप्ताहिकले २१औं वर्ष पुरा गरि २२औं वर्ष प्रवेशको अवसरमा पाँच पत्रकारलाई सम्मान र एक सामाजिक व्यक्तित्वलाई अभिनन्दन गरेको छ।

आज (शुक्रबार) धरान उपमहानगर पालिकाको सभाहलमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रबाट समाजमा योगदान दिएका पब्लिक हाई स्कुल धरानका प्रधानाध्यपक डा.ईन्द्रमोहन झालाई ‘उत्कृष्ट सामाजिक अभियन्ता सम्मान–२०८३’बाट दोसल्ला तथा अभिनन्दन पत्रद्वारा अभिनन्दन गरिएको छ। 

यसैगरी पत्रिकाकी सम्पादक/प्रकाशक मनिता चाम्लिङका दिवंगत बुवा क्वीन गोर्खा ईन्जिनियरिङ सार्जन्ट स्व.प्रभुराम राईको नाममा स्थापित ‘उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान–२०८३’बाट पुरुष तर्फ निमा पोङ्सवा र महिला तर्फबाट सन्जु राई (सुमित्रा) सम्मानित भएका छन्।

यसैगरी दिवंगत दाजु स्व.राजु राईको नाममा स्थापित ‘युवा पत्रकारिता सम्मान–२०८३’बाट पत्रकार खिलानाथ विश्वकर्मा’ सम्मानित भए।

यसैगरी दिवंगत कान्छा दाजु स्व.बाजुन राईको नाममा स्थापित ‘सृजनशील पत्रकारिता सम्मान–२०८३’बाट पत्रकार रोहित कुलुङ राई सम्मानित भएका छन्। गतवर्ष थाती रहेको दिवंगत स्व.बाजुन राईको नाममा स्थापित ‘सृजनशील पत्रकारिता सम्मान–२०८२’बाट स्वर्णिमहाङ फोम्बो सम्मानित भए।

सम्मानित सबै पत्रकारहरुलाई जनही नगद पाँच हजार पाँच रुपैयासहित, सम्मान पत्रले सम्मान गरिएको हो। 

कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगर पाकिाकाका कार्यवाहक मेयर आईन्द्रबिक्रम वेघा, पत्रिकाकी प्रकाशन/सम्पादक मनिता चाम्लिङले संयुक्त रुपमा सम्मान तथा अभिनन्दन गरे।

704347298_1427557579388447_2337741681268251704_n

धरानलाई कार्यक्षेत्र बनाएर सामाजिक क्षेत्रमा योगदान पुर्याउने पत्रकार तथा सामाजिक अभियान्तलाई हरेक वर्ष पत्रिकाले आफनो स्थापना दिवस मनाउँने क्रममा सम्मान गरिदै आएको पत्रिकाका प्रबन्धक सागर सिन्जाली मगरले बताए।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमा चेम्जोङ, सुनसरी अध्यक्ष सन्तोष काफ्ले, बरिष्ठ पत्रकार हर्ष सुब्बालगायतले शुभकामना व्यक्त गरे।

यसैगरी महिला संजाल धरानकी अध्यक्ष साबित्री इवारम, गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपालकी अध्यक्ष प्रेमकुमारी राई, सेवक अभियानकी उपाध्यक्ष ममता पौडेललगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो।