धरान, धरानको छाताचोकमा आज (बिहीबार) बिहान सवारी दुर्घटना भएको छ।
उक्त दुर्घटनामा परि दुई जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारी अनुसार बिहीबार बिहान करिब साढे ७ बजे कोसी राजमार्ग अन्तर्गत धरान-१२ स्थित छाताचोकको मुख्य हाईवेमा प्रदेश ३–०२–००४ प ८६०८ नम्बरको मोटरसाइकल र बा ८६ प ८३३५ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
भानुचोकबाट लक्ष्मी सडकतर्फ आउँदै गरेको मोटरसाइकल र चतरा लाइनबाट सिंहदेवी लाइनतर्फ जाँदै गरेको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएका छन् भने मोटरसाइकल चालक र मोटरसाइकलमा सवार एक युवती सामान्य घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी तत्काल उपचारका लागि बीपी प्रतिष्ठान धरान पठाइएको सुनसरी ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



प्रतिक्रिया