धरान, धरान उप-महानगरपालिकाको आयोजनामा तथा लायन्स क्लब अफ धरान गौतम बुद्धको व्यवस्थापनमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
आज शनिबार धरान–९ स्थित विष्णु मेमोरियल बोर्डिङ स्कुल परिसरमा सम्पन्न शिविरमा महिला तथा पुरुष गरी करिब १७५ जनाले स्वास्थ्य परिक्षण गराएका छन्।
धरान उप-महानगरपालिका कार्यपालिका सदस्य तथा वडा नं. ९ का जनप्रतिनिधि विकास भाँटीले उक्त शिविर अन्य स्वास्थ्य शिविर भन्दा फरक, व्यवस्थित र प्रभावकारी रहेको बताए।
उनका अनुसार शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सहित विशेषज्ञ चिकित्सकबाट प्रत्यक्ष परामर्श र परीक्षणको व्यवस्था गरिएको थियो।
शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूले स्वास्थ सेवा प्रदान गरेका हुन्।
जसमा महिलातर्फ स्त्रीरोग विशेषज्ञ तथा प्रसूति रोग विभागकी एसोसिएट प्रोफेसर डा. प्रिथा बस्नेत र डा. एलिना मण्डलले पाठेघर तथा महिलामा देखिने विभिन्न साधारणदेखि जटिल समस्याको परीक्षण तथा परामर्श दिएका थिए।
डा. बस्नेतका अनुसार परीक्षणका क्रममा धेरै महिलाहरूले लामो समयदेखि अस्पताल नगएको तथा आफ्नो समस्या लुकाएर बसेको अवस्था भेटिएको थियो। समयमै परीक्षण नहुँदा कतिपयमा जटिल समस्या समेत विकसित भइसकेको देखिएको उनले बताइन्।
त्यसैगरी युरोलोजिस्ट तथा सर्जरी विभागका एसोसिएट प्रोफेसर डा. रितेशजंग कार्की र जनरल सर्जन डा. सन्तोष बजगाईले पुरुषहरूमा देखिने युरोलोजी तथा पेटसम्बन्धी समस्याको परीक्षण गरेका थिए।
डा. कार्कीका अनुसार स्वास्थ्य परीक्षणको महत्वबारे जानकारीको अभावका कारण धेरै सर्वसाधारणले नियमित स्वास्थ्य जाँच नगरेको पाइयो। परीक्षणका क्रममा विभिन्न युरोलोजिकल तथा पेटसम्बन्धी समस्याहरू समेत पहिचान भएका थिए।
शिविरमा रेडियोलोजिस्ट डा. विकासकुमार गुप्ताले भिडियो एक्स–रेमार्फत कलेजो, पित्तथैली, मिर्गौला, पाठेघर लगायतका भित्री अङ्गमा देखिने विभिन्न समस्याको परीक्षण गरेका थिए।
उनले कतिपय सेवाग्राहीमा लामो समयदेखि थाहा नभएका जटिल रोगहरूको प्रारम्भिक अवस्था पहिचान भएको बताए।
शिविरमा सेवा लिन आएका अस्मिता श्रेष्ठ र कविता बस्नेतले निजी अस्पतालमा उपचार गरेजस्तै छिटो, सहज र गुणस्तरीय सेवा प्राप्त भएको प्रतिक्रिया दिए। उनीहरूले सुगर, रक्तचाप परीक्षणसँगै भिडियो एक्स–रेमार्फत शरीरभित्रका समस्या तत्काल थाहा पाउन र रिपोर्ट पनि छिट्टै प्राप्त गर्न सकेको बताए।
धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेताका अनुसार व्यवसाय, रोजगार तथा दैनिक ज्यालादारीका कारण स्वास्थ्य परीक्षणबाट वञ्चित भइरहेका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको हो।
नियमित स्वास्थ्य परीक्षणले भविष्यमा आउन सक्ने गम्भीर तथा दीर्घकालीन रोगको जोखिम कम गर्न सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
जनप्रतिनिधि विकास भाँटीका अनुसार शिविरमा परीक्षण गराएका सेवाग्राहीमध्ये करिब नौ जनामा थप उपचार तथा विस्तृत परीक्षण आवश्यक पर्ने जटिल समस्या देखिएको छ।
उनीहरूलाई आवश्यक परामर्श तथा थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न प्रोत्साहित गरिएको छ।
विशेषज्ञ चिकित्सकको प्रत्यक्ष सहभागिता, निःशुल्क भिडियो एक्स–रे तथा गुणस्तरीय स्वास्थ्य सेवाका कारण शिविरले सर्वसाधारणबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।
समयमै रोग पहिचान गरी उपचारको बाटो खोल्न सफल भएको भन्दै सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।



प्रतिक्रिया