धरान, धरान उप-महानगरपालिका भित्र जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद् तथा जोखिमयुक्त बस्तीहरूको अवस्थाबारे व्यापक छलफल गरिएको छ। 

धरान उपमहानगरपालिका स्तरीय विपद् जोखिम व्यवस्थापन समिति र गाउँले कन्सल्टेन्सी विराटनगरको संयोजनमा धरान उप-महानगरपालिकाको सभाहलमा आयोजित प्रारम्भिक तथा पृष्ठपोषण कार्यशालामा जलवायु परिवर्तनले पारिरहेको प्रभाव, जोखिमयुक्त क्षेत्रको संरक्षण तथा आवश्यक स्थानमा सुरक्षित पुनर्स्थापनाको विषयमा गम्भीर छलफल भएको हो।

कार्यशालामा प्रस्तुत तथ्याङ्क अनुसार धरानका २० वडामध्ये सात वटा वडा जलवायुजन्य विपद्को उच्च जोखिममा रहेका छन्। तीमध्ये वडा नं. ५, ४, २०, ६, १७, १५ र ८ लाई बढी संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको छ।

सबैभन्दा जोखिमयुक्त क्षेत्रका रूपमा धरान–५ देखिएको छ। विभिन्न खोला–खोल्सीबाट हुने तीव्र भू–कटानका कारण उक्त वडाका करिब ७९० घरधुरी प्रत्यक्ष जोखिममा रहेका छन्।

ती मध्ये करिब २२५ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। प्राविधिक टोलीले केही बस्ती तत्काल पुनर्स्थापना गर्नुपर्ने सुझावसमेत दिएको छ।

त्यसैगरी धरान–४ पहिरोको उच्च जोखिममा रहेको क्षेत्रका रूपमा चिनिएको छ। यहाँ करिब २१६ घरधुरी उच्च जोखिममा रहेका छन् भने ११ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने देखिएको छ।

धरान–१५ को निरञ्जन बस्ती क्षेत्रमा पहिरोको सम्भावना बढ्दै गएकाले करिब १० घर उच्च जोखिममा रहेको र तीमध्ये ५ घरधुरीलाई सुरक्षित स्थानमा सार्नुपर्ने निष्कर्ष निकालिएको छ।

धरान–८ को तीनढुंगे क्षेत्र वरिपरि वर्षायाममा बाढीको जोखिम उच्च रहेको अध्ययनले देखाएको छ। उक्त क्षेत्रमा १५ घरधुरी प्रभावित हुन सक्ने र ५ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ।

यस्तै धरान–२० को भिरालो तथा पहाडी भू–भाग पहिरोका दृष्टिले संवेदनशील रहेको पाइएको छ। यहाँका केही बस्ती जोखिममा परेकाले करिब १० घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने सुझाव दिइएको छ।

धरान–१७ मा खोला किनारका सुकुम्बासी बस्तीहरू बाढी र कटानको जोखिममा रहेका छन्। स्थानीयलाई समयमै सचेत रहन तथा आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।

त्यसैगरी धरान–६ का केही भू–भागहरू तथा खोला आसपासका क्षेत्रहरू पनि जलवायुजन्य जोखिमको चपेटामा पर्न सक्ने अध्ययनले देखाएको छ।

कार्यशालामा धरान–११ का खोला किनार तथा सुकुम्बासी बस्तीका केही घरहरू पनि जोखिममा रहेको जानकारी दिइयो। साथै धरान–३ को माछाभोडी क्षेत्र मा पानी निकासको संरचना साँघुरो हुँदा वडा नं. २३ र ६ बाट बग्ने वर्षेनीको पानीले सडक तथा आसपासका बस्तीमा असर पुर्‍याउने सम्भावना रहेको औंल्याइएको छ।

अध्ययनले धरानका केही मठमन्दिर, सार्वजनिक संरचना तथा सामाजिक संघसंस्थाहरू समेत जोखिमयुक्त क्षेत्रमा रहेको देखाएको छ। यस्ता संरचनाको संरक्षण, नियमित निगरानी तथा मर्मतसम्भारलाई प्राथमिकतामा राख्न गाउँले कन्सल्टेन्सीले सुझाव दिएको छ।

कार्यक्रममा सहभागी वडाध्यक्ष, जनप्रतिनिधि तथा सरोकारवालाहरूले आफ्नो वडाभित्रका जोखिम क्षेत्रको पहिचान, संरक्षण तथा आवश्यक पुनर्स्थापनाका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

धरान उप-महानगरपालिकाका कार्यवाहक मेयर आन्द्रविक्रम बेगाले जलवायु परिवर्तनका कारण धरानमा देखिएका जटिल समस्या, जोखिमयुक्त बस्ती तथा सम्भावित विपद्का क्षेत्रबारे जनप्रतिनिधिलाई स्पष्ट जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार समयमै अध्ययन, योजना र पूर्वतयारी गर्न सके भविष्यमा हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिनेछ।

स्थानीय जलवायु अनुकूलन योजना निर्माणका लागि आयोजित यो कार्यशालाले धरानका विभिन्न वडामा बढ्दो बाढी, पहिरो, भू–कटान तथा अव्यवस्थित बसोबासका कारण उत्पन्न जोखिमलाई उजागर गरेको छ।

सरोकारवालाहरूले समयमै संरक्षण, पूर्वाधार सुधार, सुरक्षित पुनर्स्थापना तथा समुदायस्तरको सचेतना अभिवृद्धि गर्न सके धरानलाई जलवायुजन्य विपदबाट सुरक्षित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।